काठमाडौं – स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगामा मंगलबार राति जित निकालेसँगै लिगलिडर बार्सिलोना उपाधि नजित पुगेको छ। क्याम्प नोउ रंगशालामा १० खेलाडीमा समेटिएको ओसासुनालाई १–० ले हराउँदै बार्सिलोना उपाधि नजिक पुगेको हो।
सन् २०१८–१९ को सिजनपछि उपाधि जित्न नसकेको बर्सिलोनाले यो जितसँगै ३३ खेलमा ८२ अंक जोडेको छ। यो अंक दोस्रो स्थानको रियल मड्रिड भन्दा १४ अंकले धेरै हो। लिग तालिकामा रियलको ६८ अंक रहेको छ।
गएराति बार्सिलोनाको जितमा जोर्डी अल्बाले निर्णायक गोल गरे। उनले खेलको ८५ औं मिनेटमा गोल गरेका थिए। पराजित ओसासुना भने ४४ अंकका साथ नवौं स्थानमा छ।
मंगलबार रातिकै अर्को खेलमा रियल मड्रिडले २–० को हार व्यहोरेको छ। खेलमा १० खेलाडीमा समेटिएको रियललाई रियल सोसिडाडले आफ्नो घरेलु मैदानमा हराएको हो।
सोसिडाडको जितमा ताकेफुसा कुबो र एन्डर बारेनसिएले समान एक एक गोल गरे। खेलको ४७ औं मिनेटमा कुबोले अग्रता दिलाए को खेलको ६१ औं मिनेटमा डानी कार्भाजलले रातो कार्ड पाएपछि रियल १० खेलाडीमा समेटिएको थियो।
८५ औं मिनेटमा एन्डरले गोल गर्दै सोसिडाडको जित निश्चित गरे। यो जितसँगै सोसिडाडले ३३ खेलमा ६१ अंक जोडेको छ।


