काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले लाइन काटिएका उद्योगमा तत्काल बिजुली जोड्न निर्देशन दिएका छन्।
नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीसँग भएको छलफलका क्रममा ओलीले कुलमानलाई यस्तो निर्देशन दिएका हुन्।
डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा नेपाल विद्युत् प्राधिकरणले केही उद्योगमा लाइन काटेको थियो।
प्रधानमन्त्री ओलीको निर्देशनपछि घिसिङले प्राधिकरण सञ्चालक समितिको बैठक बोलाएका छन्।
ओलीको निर्देशनअुनसार आजै विद्युत् जडान गर्ने तयारी प्राधिकरणले गरेको छ।
महसुल विवाद भने थप अध्ययन गरी निष्कर्षमा पुगिने प्रधानमन्त्री ओलीले बताएका थिए।
डेडिकेटेड फिडर र ट्रंकलाइनको महसुल २२ अर्ब पुगेको भन्दै प्राधिकरणले विभिन्न ५७ उद्योगलाई रकम भुक्तानी गर्न भन्दै आएको थियो।
तर निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारको पालामा उद्योगहरूलाई छुट दिने भन्दै साढे ८ अर्ब मात्र भुक्तानी गर्दा हुने व्यवस्था गरिदिएको थियो।
तर उद्योगीहरू भने उक्त रकम पनि भुक्तानी गर्न तयार भएनन्।
यसअघि उद्योगीहरूले अर्थमन्त्री विष्णु पौडेललाई यो विषयमा ब्रिफिङ गरेका थिए।
ब्रिफिङ सुनेपछि पौडेलले उद्योगीलाई उक्त रकम छुट हुन सक्ने संकेत गरेका थिए।


