काठमाडौँ- सौर्य एयरलाइन्सको दुर्घटनाका विषयमा संसदीय समितिमा छलफल भएको छ।
प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डे, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक (डीजी) प्रदीप अधिकारीसँग छलफल गरेको थियो।
छलफलका क्रममा सांसदहरूले क्यानका डीजी अधिकारीसँग विभिन्न विषयमा प्रश्न उठाएका थिए।
समितिका सभापति समितिका सभापति राजकिशोर यादवले बुधबार १८ जनाको मृत्यु हुने गरी भएको सौर्य एयरलाइन्सको दुर्घटनामा बच्चासहितका बाहिरी व्यक्तिहरू कसरी परे भन्दै प्रश्न गरेका थिए।
महानिर्देशक अधिकारीले घटनाको सम्बन्धमा छानबिन आयोग बनिसकेको अवस्थामा प्राविधिक पक्षको बारेमा आफूले बोल्न उचित नहुने जवाफ फर्काए।
‘घटना भइसकेको छ। सरकारले ५ सदस्यीय छानबिन आयोग गठन गरिसकेको छ। यसमा हामी सबै (प्राधिकरणसमेत) अनुसन्धानको दायरामा छौँ। आयोगले सत्यतथ्य छानबिन गर्ला। यस विषयमा मैले बोल्न उचित हुँदैन,’ अधिकारीले समितिमा भनेका थिए।
बुधवार सौर्य एयरलाइन्सको जहाज काठमाडौँबाट पोखरा नियमित चेकजाँच (सी–चेक) का लागि पोखरा जाने क्रममा दुर्घटनामा परेको भनिएको छ। सी चेकका लागि गएको जहाजमा असम्बन्धित व्यक्तिहरू कसरी परे भनेर समितिले प्रश्न गरेको थियो।
नेपाली कांग्रेसका सांसद उदय शमशेर राणाले अधिकारीकै कार्यकालमा ७ वटा जहाज दुर्घटना भएको भन्दै त्यसको जिम्मेवारी लिन पर्ने कि नपर्ने भन्दै प्रश्न उठाएका थिए।
‘नेपाली आकाशमा आन्तरिक मात्र होइन विदेशी जहाज पनि दुर्घटनामा परेका छन्। सन् १९९६ यता साना ठुला ६० वटा जहाज दुर्घटनामा परिसकेका छन्। यसमा विदेशी जहाज समेत ८ वटा परे। आन्तरिक त सबैजसो एयरलाइन्स कम्पनीहरूका जहाज दुर्घटनामा परेका छन्,’ जबराले भने, ‘प्राधिकरणमा तपाईँकै नेतृत्वयता मात्र ७ वटा जहाज दुर्घटनामा परिसकेका छन् यसको जिम्मेवारी लिनुपर्दैन? दोष जति सधैँ अरूलाई नै लगाउने?’
अन्य देशमा यस्तो हुन्थ्यो भने कि त नेतृत्वले आफैँ राजीनामा दिनुपर्थ्यो कि त सरकारले हटाउँथ्यो। प्राधिकरणको नेतृत्व फेर्ने कुरामा सोच्ने बेला आएको सांसद जबराले संसदीय समितिमा राखेका थिए।
समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ५ वटा निर्देशन दिएको हो।
नेपालको हवाई सुरक्षा, आईकाओको रिपोर्ट, कोरियन एयरलाइन्सको एकाधिकारका विषयमा रिपोर्ट पेस गर्न समितिको निर्देशन छ। यसका लागि मन्त्री पाण्डेले एक साताको समय पाएका छन्।
रिसाए किराँती
समितिको बैठकमा पूर्वमन्त्री सुदन किराँती र समितिका सभापति राजकिशोर यादबीच भनाभनकै अवस्था सिर्जना भएको छ।
किराँतीको बोल्ने समयमा यादवले विषयवस्तु (मुद्दा)मा केन्द्रित हुन भनेपछि किराँती आक्रोशित बनेका हुन्।
किराँतीले नेपालको हवाई सुरक्षा र कोरिया जाने नेपाली कामदार पठाउन कम्पनीहरूले खडा गरेको एकाधिकारका विषयमा बोलिरहेका थिए।
सभापति यादवले टेक्निकलमा केन्द्रित हुन आग्रह गरे।
‘सभापतिज्यू म त कुनै टेक्निसियन होइन नि, कुनै जहाज चलाउने पाइलट पनि होइन नि। फेरि म कसरी टेक्निकल विषयमा बोल्न सक्छु?,’ उनले प्रश्न गर्दै भने, ‘म त राजनीतिक प्राणी हो नीतिगत पक्षमा बोल्ने हो,’ किराँतीको उत्तर थियो।
तर उनलाई थप बोल्नबाट यादवले रोके।
किराँती आक्रोशमा आए। समितिको बैठक बहिष्कार गरेर हिँडे।
सभापतिले चार चार वटा मुद्दा छलफलका राखे पनि सम्बन्धित मुद्दामा बोल्न नदिएर अत्याचार गरेको किराँतीको आरोप छ।


