काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। यसअघि स्थगित भएको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आज सार्वजनिक गर्न लागिएको हो।
कांग्रेस–एमालेको समीकरणपछि बनेको नयाँ सरकारले मौद्रिक नीतिका सवालमा केही अध्ययन गर्न बाँकी रहेको भन्दै यसअघि सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको थियो।
मौद्रिक नीतिका बारेमा अर्थविद् एवम् सरोकारवालाहरूले फरक फरक धारणा राख्दै आएका छन्। गभर्नर महाप्रसाद अधिकारीले लचिलो मौद्रिक नीति ल्याउने सङ्केत गरिसकेका छन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पनि अहिलेको अभावलाई सम्बोधन गर्ने गरी मौद्रिक नीति आउने बताएका छन्।
गत शुक्रबार सार्वजनिक हुने भनिएको मौद्रिक नीति डा. युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार नियुक्त भएपछि एक साता रोकिएको हो।
राष्ट्र बैंक सञ्चालक समितिमा गत शुक्रबार नै मौद्रिक नीतिमा सामान्य छलफल भएको थियो। तर, राष्ट्र बैंकको गभर्नरसमेत रहिसकेका डा. खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीतिमा उनका सुझावलाई समेत लिन केही दिन रोकिएको थियो।
सोमबार प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदै गर्दा मौद्रिक नीतिका सन्दर्भमा केही सन्देश समेत दिन खोजेको थिए। आफ्नो नेतृत्वमा सरकार बनेसँगै सेयर बजारमा उत्साह देखिएको भन्दै उनले अर्थतन्त्रका अन्य क्षेत्र पनि चलायमान हुने बताएका थिए। केन्द्रीय बैंकले अर्थमन्त्री र प्रधानमन्त्रीको मनसाय बुझ्दै मौद्रिक र नियामकीय औजारमा लचकतासहितको मौद्रिक नीति ल्याउने तयारी गरेको राष्ट्रबैंक स्रोतले जनाएको छ।
राष्ट्र बैंकले कर्जा नीति बनाउनुपर्ने र सेयर बजारमा लगानी गर्ने नीति धितोपत्र बोर्डले नै बनाउने भएकाले त्यस किसिमको सीमा राष्ट्र बैंकले तोक्न नहुने डा. युवराज खतिवडाले नै बताउँदै आएका छन्। खतिवडाले मौद्रिक नीतिमा चासो देखाएकाले त्यसमा परिमार्जन हुने अपेक्षा धेरैको देखिन्छ।
मौद्रिक नीति उदार हुने संकेत गभर्नरले गरेका छन्। राष्ट्र बैंकको एक उच्च स्रोतले भन्यो, ‘ब्याजदर घटेको, बजारमा अधिक तरलता भएर राष्ट्र बैंकले तरलता खिच्ने ठूलो लागत खर्च गर्नुपर्ने अवस्था रहेको छ। रिकभरी दबाबमा रहेका बैंकहरूको कर्जा विस्तार पनि नहुँदा मुनाफाको दबाबमा रहेका छन्। यस्तोमा अहिले बजार चलायमान बनाउने नीति आउने अपेक्षा सबै क्षेत्रले गरेका छन्।


