काठमाडौँ- नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार राजधानीमा सम्पन्न साधारणसभाले कुशल गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयनसमेत गरेको छ।
नयाँ कार्यसमितिमा गुणराज ढकाल निवर्तमान अध्यक्ष, केशवराज खनाल उपाध्यक्ष, ऋषभराज आचार्य महासचिव, तेजनारायण ठाकुर सचिव र कृष्णप्रसाद पराजुली कोषाध्यक्ष छन्। त्यसैगरी कार्यसमिति सदस्यहरुमा गोकुल गौतम, एवबहादुर मगर, हरिनारायण गौतम, अर्चना सिंह र प्रकाश लामिछाने रहेका छन्।
नवीकरणीय ऊर्जा क्षेत्रका संगठनहरुको छाता संगठन परिसंघमा नेपाल लघु जलविद्युत विकास संस्था, नेपाल सौर्य विद्युत उत्पादक संस्था, नेपाल सौर्य तापीय संघ, नेपाल बायोग्यास प्रवर्द्धन संघ, नेपाल ग्रामीण प्रविधि उत्पादक संघ, जैविक ऊर्जा उत्पादक संघ, नेपाल लघु जलविद्युत उपभोक्ता संघ, बायोग्यास सेक्टर साझेदारी नेपाल, स्रोत व्यवस्थापन तथा ग्रामीण रोजगारी केन्द्रलगायत करिब ६ सय वटा कम्पनीको प्रतिनिधिमूलक संस्था हो।
साधारणसभा अघि जलवायु परिवर्तनको विश्वव्यापी प्रभाव र नवीकरणीय ऊर्जाका स्रोतहरु परिचालन गरी जलवायु परिवर्तनको असर कम गर्न व्यापक रुपमा प्रविधि परिचालन गर्न विभिन्न नीति, कार्यनीति, कार्यक्रम र निजी क्षेत्रको लगानी, सहभागिता साथै सरकार र विकास साझेदारहरुका साथ सहकार्य गर्न आयोजित कार्यशाला पनि आयोजना गरिएको थियो।
परिसंघका संस्थापक अध्यक्ष गुणराज ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, आयोगका सदस्य डा. मधुसुदन अधिकारी, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल, प्राडा जगन्नाथ श्रेष्ठ, प्राडा रमेशकुमार मास्के, प्राडा प्रेम शर्मा, हितेन्द्रदेव शाक्यलगायतका विज्ञहरुले नवीकरणीय ऊर्जाको महत्व, प्रवर्द्धन र विकासबाट लाभ लिन सरोकारवालाको साझा प्रयास आवश्यक रहेको उल्लेख गरेका थिए। विज्ञहरूले विश्वव्यापी रुपमा बढिरहेको जलवायु परिर्वतन र यसको असरलाई न्यूनीकरण गर्न नवीकरणीय ऊर्जा उपयुक्त भएको धारणा राखे।
नेपाल भूकम्पीय जोखिम उच्च भएको तथा बाढीपहिरो लगायतका प्राकृतिक प्रकोप अत्यधिक हुने देशमध्ये पर्ने भएकाले देशको ऊर्जा प्रणालीलाई दिगो र सुरक्षित बनाउनका लागि ऊर्जा मिश्रणको आवश्यकता देखिएको उल्लेख गर्दै मिश्रित ऊर्जामा नवीकरणीय ऊर्जाको हालको अनुपातलाई वृद्धि गर्नुपर्नेमा सरोकारवालाहरुको जोड छ।
त्यस्तै उक्त अवसरमा नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धन र विकासका लागि उच्च योगदान दिने व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानितहरुमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्व कार्यकारी निर्देशकहरु श्यमलाल वैद्य, मदन बस्नेत, प्राडा गोविन्दराज पोखरेल, डा. नारायण चौलागाई, डा. रामप्रसाद धिताल, डा.मधुसुदन अधिकारी रहेका थिए।
त्यस्तै पूर्वमन्त्री गणेश साह, विज्ञहरु प्राडा जगन्नाथ श्रेष्ठ, प्राडा रमेशकुमार मास्के, सुरेन्द्रभक्त माथेमा विश्व भूषण अमात्य, लैंगिक अभियन्ता तथा नवीकरणीय ऊर्जाविज्ञ डा. इन्दिरा शाक्य, व्यवसायीहरू, नवीन भुजेल, शेखर अर्याल र परिसंघका प्रमुख कार्यकारी अधिकृत पूर्ण रन्जितकार पनि सम्मानित भए।


