काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ।
कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो।
दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर ५ प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो।
मौद्रिक नीतिले संस्थागत लागनीकर्ताका लागि मार्जिन प्रकृतिको कर्जामा रहेको २० करोडको सीमा हटाएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २०७५ चैत १९ देखि सेयर बजारमा सर्किट सम्बन्धी व्यवस्था लागू गर्दै आएको छ। एक दिनमा ३ पटकसम्म सर्किट ब्रेक लगाउन सकिने व्यवस्था गरिएको छ।
बजार खुलेको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले नेप्से घट्यो वा बढ्यो भने भने सर्किट लगाई २० मिनेटका लागि कारोबार बन्द गरिन्छ। यसले मार्केटलाई कुलडाउन गराउनमा सहयाेग गर्छ।
यसैगरी कारोबार शुरु भएकोे दोस्रो घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घट्यो वा बढ्यो भने पुनः सर्किट लगाई ४० मिनेटका लागि कारोबार रोकिन्छ।
परिसूचक ६ प्रतिशतले घट्यो वा बढ्यो भने सर्किट ब्रेक लगाई उक्त दिनभर कारोबार बन्द गरिन्छ।
कम्पनीको हकमा भने प्रत्येक कारोबारमा २ प्रतिशतका दरले अधिकतम १० प्रतिशत घट/बढ भएपछि सो कम्पनीको सेयर मूल्यमा सर्किट लाग्ने व्यवस्था छ। यस्तो अवस्थामा कारोबार नै बन्द त हुँदैन तर उक्त दिनमा १० प्रतिशतको घटबढसम्ममा मात्र कारोबार गर्न पाइन्छ।


