काठमाडौँ- चालु आर्थिक वर्ष (आव) २०८१/०८२ को मौद्रिक नीति आएपछि आइतबार पहिलो पटक खुलेको सेयर बजारले डबल सर्किट मार्यो।
कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले आइतबार दुई पटकसम्म सर्किट लाग्ने बिन्दुमा पुग्यो।
तर दोस्रो सर्किटपछि खुलेको बजार केही सम्हालिँदा दिनभरमा ४.४१ प्रतिशतमा खुम्चियो। तोकिएको अवधिभरमा कारोबार सम्पन्न भएर बजार बन्द भएको छ।
कारोबार सुरु भए लगत्तै नेप्सेमा सकारात्मक सर्किट लागेको थियो। ११ बजे सुरु भएको आइतबारको कारोबार १ मिनेट ३१ सेकेन्डमा नै ४ प्रतिशतभन्दा बढी बढेकाले पहिलो सर्किट लगाइयो।
बजार खुलेको पहिलो घण्टामा ४ प्रतिशतभन्दा बढीको अंकमा परिसूचक ४ थपघट भए २० मिनेटका लागि सर्किट जारी हुन्छ। उक्त २० मिनेट पूरा भएको १ मिनेटमा नै दोस्रो सर्किट लाग्यो र बजार ४० मिनेट बन्द भएको थियो। दोस्रो सर्किट लाग्दा नेप्से ५ प्रतिशतले बढेको थियो।
तर दोस्रो सर्किट त्यसपछि खुलेको कारोबार भने सर्किट बिन्दुमा प्रवेश गरेन।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको बुँदा नम्बर ९५ मा संस्थागत लगानीकर्ताको लागि सेयर धितो कर्जाको अधिकतम सीमा खारेज गरिएको छ।
मार्जिन ट्रेडिङ प्रभावकारी हुन नसकेको अवस्थामा संस्थागत लगानीकर्तालाई कायम गरिएको अधिकतम २० करोड रुपैयाँको सीमा हटाइएको हो।
तर व्यक्तिगत लगानीकर्ताको लागि लगाइएको क्याप भने हटाइएको छ। व्यक्तिगततर्फको १५ करोडको सीमा यथावत् छ।
संस्थागत लगानीकर्ताका लागि गरिएको सीमा खारेजीले आइतबारको सेयर बजारमा सर्किट सिर्जना गरेको हो। आइतबारको कारोबारमा सर्किट लाग्ने अनुमान मौद्रिक नीति सार्वजनिक हुने बित्तिकै गरिएको थियो।
आइतबार समग्रमा ४.४१ प्रतिशतले बजार बढेर बन्द भएको छ। १४८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८७ कम्पनीको मूल्य घटेको छ। ८ वटाको स्थिर रह्यो।
आज १२ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतको वृद्धि आएको छ।यस्तै थप १० वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
आइतबार कुमारी बैंकको सेयर सबैभन्दा धेरै ३६ करोड १० लाख रुपैयाँको कारोबार भएको हो। एनआईसी एसिया बैंकको सेयर ३४ करोड ८१ लाख रुपैयाँको किनबेच भएको छ।
दिनभरमा १५ अर्ब ८१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। यो दिन लघुवित्त समूहको सूचक भने घटेको छ। यो समूहको सूचक १० अङ्कले घटेको हो।
जीवन बिमा समूहमा ५१९ अङ्कको वृद्धि आउँदा निर्जीवन बिमा समूहको सूचक ३४५ अङ्कले बढेको छ। विकास बैंक समूह २४५ अङ्कले बढेको छ भने बैंक समूह १४१ अङ्कले बढेको छ।
दिनभरमा ११३.४१ अंकले बढेको नेप्से परिसूचक २६८१.४२ अङ्कको बिन्दुमा पुगेको छ।


