काठमाडौँ- बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आज विश्वासको मत लिदै छन्। साउन ८ गते मुख्यमन्त्रीमा नियुक्त भएका लामाले कांग्रेस एमालेको गठबन्धनबाट सरकारको नेतृत्व गरिरहेका छन्।
मुख्यमन्त्री लामाले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन्। ३० दिन भित्र सांसदबाट विश्वासको मत लिइसक्नुपर्ने सम्वैधानिक व्यवस्था छ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज (मंगलबार)का लागि प्रदेशसभा बैठक आह्वान गरेका छन्। दिउँसो ३ बजेका लागि आह्वान भएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि छलफल सहित निर्णय हुनेछ।
सचिवालयका अनुसार बैठकको सुरुवातमा मुख्यमन्त्री लामाले आफ्नो धारणा सहित विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्नेछन् भने सो पश्चात् दलगत रूपमा मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्ताव माथि नेताहरूले धारणा राख्नेछन्।
दलगत रूपमा सांसदहरूको धारणा राखेसँगै मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्तावमा मत विभाजन गर्ने संसद्को कार्यसूची रहेको छ। हस्ताक्षर सहितको मत विभाजनमा सांसदहरूले मुख्यमन्त्री लामाको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्ष, विपक्ष वा तटस्थमा मत दिने सचिवालयले जनाएको छ।
मुख्यमन्त्री लामाले आफूलाई विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न माओवादी केन्द्र सहितका विपक्षी दलहरूलाई आग्रह गरेका छन्। लिखित रूपमा सबै दलहरूलाई पत्राचार गरेर उनले आफूलाई विश्वासको मत दिन विपक्षी दलहरूलाई आग्रह गरेका छन्।
उनले माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादी संसदीय दलका नेता कृष्णप्रसाद शर्मा खनाल, राप्रपाका संसदीय दलका नेता उद्धव थापा, नेमकीपाका संसदीय दलका नेता सुरेन्द्रराज गोसाई, हाम्रो नेपाली पार्टी संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यसँग विश्वासको मत माग्दै पत्र पठाएका हुन्।
साउन १२ मा एक विना विभागीय मन्त्री सहित सरकारलाई पूर्णता दिएका मुख्यमन्त्री लामालाई एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ। पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका उनले एमालेका ६ र कांग्रेसका ८ जनालाई मन्त्री नियुक्त गरेका छन्।
२०४३ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिमा लागेर लामा नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय छन्। उनी हाल कांग्रेसको वर्तमान केन्द्रीय सदस्य रहेका छन्। उनले २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत माओवादी (हालको नेकपा माओवादी केन्द्र) का चर्चित नेता स्व. पोष्टबहादुर बोगटीलाई भारी मतले हराएर संविधानसभा सदस्य पदमा निर्वाचित भएका थिए।
नेपाली कांग्रेसका नेता तथा निर्माण व्यवसायी लामा विभिन्न संघ संस्थामा आबद्ध तथा खेलकुद क्रियाकलापमा पनि सक्रिय छन्। लामा २०५४ सालमा गाविस बनेर अध्यक्ष जनप्रतिनिधिको भूमिकामा रहेर काम गरेका थिए।
नुवाकाटलाई विकासको गतिमा डो¥याउन उनको महत्त्वपूर्ण भूमिका हरेको छ। त्रिशूली खोलामा निर्माण भएका महादेवस्थान–दर्शनटार पुल, सिर्खाली पुल, ढोडबेसी–बुधसिं पुल, तुप्चे–भैंसे पुल, बुङताङ –ब्रामनचेत पुल, पहरेखोप–बगुवा पुल, मनकामना–फिकुरी –काहुले –भाल्चे – साल्मे सडक कालोपत्रे, खड्गभञ्ज्याङ– छत्रेखोला– नेवारपानी– तारुका सडक, हात्तिगौंडा राईसिं– हर्कपूर –देउराली– मेघाङ– किम्ताङ सडक, कोलनी– आँगुटार–तुप्चे–सोले सडक कालोपत्रे, सोले–जामूने–किर्नेवगर– बुङताङ–देउराली सडक, दर्शनटार–उपल्लो डिही–कौसेनी– तारुका जोरचौतारो र सुनाखेती–पिडालुवारी–पारिजात स्कूल जाने रणनीतिक सडकले साविक ३ नं. क्षेत्रलाई बाह्रै महिना सडक सञ्चालन हुने अवस्थामा पु¥याउने काम लामाको पहलमा भएका महत्त्वपूर्ण काम मानिन्छन्।


