काठमाडौं– राष्ट्रिय दुग्ध विकास बोर्डले भारतबाट दैनिक १ लाख २० हजार लिटर दूध आयात गर्न सिफारिस गरेको छ। बोर्डले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा मागअनुसार दूध आपूर्ति हुन नसकेकाले ३ महिनाका लागि दैनिक १ लाख लिटर बढी दूध आयात खोल्न सुझाइएको हो।
गत कात्तिकमा पनि दूध अभाव भएपछि यसैगरी दैनिक परिमाणत्मक बन्देजसहित आयात खोलिएको थियो । सरोकारवालासँगको छलफलपछि सहमतिमै बोर्डले दूध आयातका लागि सरकारलाई सिफारिस गरेको बोर्डका उपकार्यकारी निर्देशक बालक चौधरीले बताए।
डेरी उद्योगले मन्त्रालयमा भारतबाट धुलो दूध, कच्चा दूध र बटर आयात माग गर्दै निवेदन दिएका थिए। बोर्डले तयार पारेको प्रतिवेदन कृषिमन्त्री मन्त्री वेदुराम भुसाललाई बुझाइसकेको छ। मन्त्रालयले यसबारे थप छलफल गरेर दूध आयात खुलाउने वा नखुलाउने भन्ने विषयमा अन्तिम निर्णय गर्नेछ।
दुग्ध विकास संस्थान (डीडीसी), नेपाल डेरी एसोसिएसन, नेपाल डेरी उद्योग संघ दूध आयात खुलाउनुपर्ने पक्षमा रहे पनि दुग्ध उत्पादक किसान ग्रामीण भेगसम्म पुगेर दूध संकलनलाई प्रोत्साहन गरिनुपर्ने अडानमा छन्।


