ढाका- बंगलादेशमा आन्दोलनरत विद्यार्थीका अगुवाले नोबेल पुरस्कार विजेता डा युनुसलाई अन्तरिम सरकारको प्रमुख बनाउन चाहेको खुलासा गरेका छन्।
कोटाविरोधी विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले शेख हसिनाको पतनपछि अन्तरिम सरकारको प्रमुखमा नोबेल पुरस्कार विजेता अर्थशास्त्री प्राध्यापक मोहम्मद युनुसको नाम प्रस्ताव गरेका हुन्।
जतिसक्दो चाँडो प्राध्यापक युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न राष्ट्रपतिसँग आग्रहसमेत गरेका छन्।
आन्दोलनका संयोजकमध्येका एक इस्लामले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै युनुसको नाम प्रस्ताव गरेका हुन्। भिडियोमा उनीसँगै संयोजक आसिफ महमुद र अबु बकर मजुमदार पनि देखिएका छन्।
अन्तरिम सरकारको प्रमुख बन्ने विषयमा प्राध्यापक युनुससँग कुराकानी भइसकेको पनि उनको भनाइ छ। ‘हामीले मुहम्मद युनुससँग पनि कुरा गरेका छौं। विद्यार्थीहरूको आग्रहमा बंगलादेशका लागि यो महत्त्वपूर्ण जिम्मेवारी लिन उहाँ सहमत हुनुभएको छ,’ संयोजक नाहिद इस्लामले भने।
कोटाविरोधी विद्यार्थी आन्दोलनले सल्लाहकार परिषद्का बाँकी सदस्यको नाम पनि छिट्टै घोषणा गर्ने बताएको छ।
यसअघि हिजो पत्रकार सम्मेलनमा इस्लामले भने विद्यार्थी-नागरिकहरूले समर्थन वा प्रस्ताव नगरेसम्म हामी कुनै पनि प्रकारको सरकारलाई समर्थन नगर्ने बताएका थिए। ‘सेना समर्थित सरकार वा राष्ट्रपति नेतृत्वको सरकारलाई विद्यार्थीहरूले स्वीकार गर्दैनन्,’ उनले भनेका थिए।
सरकारी जागिरका लागि कोटा प्रणालीको विरोधमा हप्तौंदेखि चलेको विरोध हिंसामा परिणत भएपछि बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले सोमबार राजीनामा दिएर देश छाडेकी थिइन्। योसँगै उनको १५ वर्षको शासन अन्त्य भएको छ।
हजारौं प्रदर्शनकारीहरूले उनको सरकारी निवास प्रवेश गरेपछि हसिनाले हेलिकोप्टरबाट भारत प्रस्थान गरेकी थिइन्। आन्दोलनकारीले हसिना नेतृत्वको अवामी पार्टीको कार्यालयलगायतका भवनमा तोडफोड गरेका छन्।
राजनीतिक शून्यतामा बंगलादेश, हसिनाको परिवार राजनीतिमा ‘नफर्किने’
‘प्रेसर कुकर’ जसरी पड्किएको प्रदर्शनले पल्टाइदियो शक्तिशाली हसिनाको सत्ता


