काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आगामी १ साता हवाई सुरक्षा सम्बन्धमा केन्द्रित रहने बताएका छन्।
१५ दिनको अवधिमै दुई वटा हवाई दुर्घटना भएपछि उनले जरुरीबाहेकका काम थाँती राखेर हवाई सुरक्षा सुधारका लागि केन्द्रित हुने बताएका हुन्।
यो अवधिमा हवाई सुरक्षाका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारको उपाय खोज्ने उनको भनाइ छ।
हवाई सुरक्षा सुधारको रणनीति तयार गर्नका लागि मन्त्री पाण्डेले एक साताका लागि जरुरीबाहेकका सबै कार्यक्रम र भेटघाट बन्द गरेको उनको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार यो अवधिमा यसै विषयमा केन्द्रित भएर सम्बन्धित निकायलाई परिचालन गरिनेछ।
साथै, मन्त्रीको सचिवालयले नेपालको हवाई क्षेत्रको सुरक्षा सुरक्षाका लागि सुझाव पनि मागेको छ। सुझाव मन्त्रालयको इमेल ठेगानामा पठाउन भनिएको छ।
बुधबारमात्रै नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना भएको थियो। जसमा पाइलट र चार जना चिनियाँ नागरिकको मृत्यु भयो।
दुई साताअघि त्रिभुवन विमानस्थल परिसर भित्रै सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। यो दुर्घटनामा पाइलटमात्र जोगिएका थिए।
यी दुवै दुर्घटनामा प्रभावकारी उद्धार कार्य हुन सकेको थिएन। यस विषयमा पनि सम्बन्धित निकायसँग जानकारी लिइएको मन्त्री पाण्डेको सचिवालयले जनाएको छ।


