काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत कभरेज रकमको सीमा बढाउन प्रस्ताव गरेका छन्।
स्वास्थ्य बिमाले हाल एक लाखसम्मको मात्र उपचार खर्च कभर गर्दै आएकाले अब त्यसलाई बढाएर कम्तीमा पाँच लाख रुपैयाँ बनाउने प्रस्ताव गरेका हुन्।
मन्त्रालयमा आज पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बिमाको दायरा बढाउने प्रस्ताव गरेका हुन्।
‘हामी स्वास्थ्य बिमाको कभरेज सीमा दायरा बढाउने तयारीमा छौँ,’ मन्त्री पौडेलले भने, ‘चिनीजन्य सामग्रीमा कर लगाएर भए पनि बिमामा रकम बढाउनुपर्छ।’
स्वास्थ्यमन्त्री पौडेलले सातै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना गरिने पनि बताए। उनले सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने पनि जानकारी दिए।


