काठमाडौँ- सांसदले बोल्दैगर्दा सभामुखले रोकेर माइक काटिदिएपछि प्रतिनिधि सभाको मंगलबारको बैठक केही बेर प्रभावित भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकाललाई सभामुख देवराज घिमिरेले बोल्न रोकेपछि सदनको कामकारबाही केही समय प्रभावित भएको हो।
आकस्मिक समयमा सांसद ढकालले यातायात क्षेत्रको सुरक्षा सम्बन्धी विषय उठाउने भनेर नाम टिपाएका थिए। तर उनी भ्रष्टाचार र डेडिकेटेड/ट्रंकलाइन महसुलसम्बन्धी विषयतर्फ मोडिएपछि सभामुखले रोकेका हुन्। अर्को विषयतर्फ मोड्न खोजेको भन्दै सभामुखले उनको माइक काटिदिएका थिए।
सभामुखले उनलाई रोकेपछि रास्वपा सांसदहरूले बोल्न नदिइएको भन्दै उठेर विरोध गरे। सभामुखले भने २ घन्टा विषेश समय रहेको भन्दै विषेश समयमा कुरा उठाउन आग्रह गरे। सभामुखले भनिरहेका छन्, ‘कतिबेला लाइन काट्ने/नकाट्ने भन्ने कुरा नियम अनुसार हुन्छ। २ घण्टा दलीय आधारमा विषेश सयमा बोल्न नाम टिपाउनुहोला।’
तर रास्वपा सांसदको विरोध रोकिएन। पछि अरु प्रतिपक्षी दलले पनि साथ दिए। सभामुखले विरोध साम्य गर्न सकेनन्। र फेरि पनि उनै ढकाललाई बोल्ने समय दिनका लागि बाध्य भए।
त्यसपछि ढकालले उद्योगमा लाइन जोड्न प्रधानमन्त्रीले निर्देशन दिएजसरी महसुल तिर्न पनि निर्देशन दिनु माग गरेका थिए। ‘प्रधानमन्त्रीज्यू, जसरी बिजुलीको लाइन जोड्नलाई निर्देशन दिनुभएको थियो । महसुल उठाउन पनि उसैगरी निर्देशन दिनुपर्यो कहाँ-कहाँ दिने हो,’ ढकालले भने, ‘तिनुपर्ने उद्योगीले तिर्दिनँ भनेका छैनन्।’
करदातामाथि करमाथि लामो हात बनाउनेमाथि सधैँ छलफलको विषय हुने उनको भनाइ छ।


