काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले पार्टी फुटाउँछन् भन्ने आशङ्का नगर्न पार्टी पङ्क्तिलाई आह्वान गरेका छन्।
शनिबार पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको नवौँ वार्षिक साधारणसभामा बोल्दै उनले स्थायी समितिको बैठकपछि यो आशङ्का हटेको बताउँदै पार्टी विभाजन नहुने बरु एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पारेका हुन्।
केही मानिसहरूले ‘जनार्दनले पार्टी फुटाउँदै छन्’ भनेर सुनाउँदा आफूलाई पनि के भएको भन्ने लागे पनि स्थायी समिति बैठकको अन्त्यसम्ममा सबै आशङ्का हटेर गएको प्रचण्डले बताए।
‘स्थायी समिति बैठकमा केही कमरेडले भिन्न ढङ्गले कुरा राख्नुभएको थियो। कमरेड जनार्दन शर्माले लिखित रूपमा प्रस्तुत गरेको दस्ताबेजमा फरक मत भनेर राख्नुभएको थिएन। त्यहाँ फरक मत भनेर लेखिएको पनि छैन,’ उनले भने, ‘उहाँले पनि यसलाई आफ्नो मतको रूपमा व्याख्या गर्दै अरूले मुखले भनेको तर आफूले लेखेर ल्याएको भन्नुभयो। त्यो बाहिर जाँदा तरङ्ग र आशङ्का पैदा भए। तर, स्थायी अन्त्यसम्म आइपुग्दा त्यो मुख्य रूपमा सम्बोधन गरिएको छ।’
आफूले कहिले पनि जनार्दनले पार्टी फुटाउँदैछन् भनेर नभनेको प्रचण्डको जिकिर छ। आफूलाई विभिन्न व्यक्तिहरूले भनेको तर आफूले त्यसमा विश्वास नगरेको प्रचण्डको भनाइ छ।
‘प्रभाकरले पार्टी फुटाउन खोजेका छन् भनेर लिडरसिपले कहिले पनि भनेको थिएन। तर विभिन्न मानिसहरूले आएर सुनाउँथे– पार्टी फुट्दै छ, फुटाउँदै छन्, विभिन्न तत्त्व मिलेका छन्। यसले यदाकदा के भयो भन्ने भएको थियो,’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘ बैठक अन्त्यसम्म जनार्दन शर्माको पार्टी फुटाउने कुनै उद्देश्य पनि छैन, नियत पनि छैन भनेर उहाँले प्रष्ट पार्नुभयो। जनार्दनले पार्टी फुटाउन खोज्यो भन्ने कसैलाई आशङ्का छ भने त्यसबाट मुक्त हुन अपिल गर्न चाहन्छु। तपाईंले लिए पनि, मैले लिए पनि त्यो निराधार हो भन्ने चाहन्छु।’
शनिबार बिहान मात्र पनि उपमहासचिव शर्मा आफ्नो निवास खुमलटार आएको र अब एकताबद्ध भएर जाने कुरा भएको उनको जिकिर छ। कार्यक्रममा उनले बोगटी भइदिएको भए पार्टीको लाइन विकास गर्न योगदानग गर्ने अपेक्षा पनि गरे।
‘हाम्रो सापेक्षतामा त्यसलाई समाधान गर्ने दिशामा अघि बढेका छौँ। यस्तो बेलामा मैले पोस्टबहादुर बोगटीलाई अझ बढी सम्झेका छौँ,’ उनले भने, ‘उहाँ भइदिएको भए के हुन्थ्यो होला रु पार्टी लाइनलाई विकसित गर्ने सन्दर्भमा र पार्टीको एकतालाई सुदृढ गर्ने सम्बन्धमा हामीलाई उहाँ अपरिहार्य थियो।’
कांग्रेस र एमालेको समीकरण बनेकोमा उनको दुखेसो पनि कार्यक्रममा व्यक्त गरेका थिए। अपारदर्शी र षडयन्त्र तरिकाले सरकार परिवर्तन गर्न मध्यरातमा सहमति गरेको आरोप लगाए। आफ्नो सरकारलाई हटाउन आफ्नो पङ्क्तिलाई पनि जानकारी नदिइकन जमर्को गरिएको उनको भनाई थियो।
‘मैले अन्तिम पटक विश्वासको मत लिँदा मैले ती सबै कुराको प्रतिवाद र व्याख्या गर्दै के गर्ने भनेर भनेको थिए। समीकरण परिवर्तन गरेर नेकपा एमालेसँग मिलेर विश्वासको मत लिँदै गर्दा एमाले नेताले नेपाली कांग्रेसका नेतालाई हाम्रो बोलचाल बन्द भयो भन्नुभयो,’ प्रचण्डले थपे, ‘तलबाट कांग्रेसका नेताले बोलचाल खोल्ने हो भनेर बोलेको कुरा प्रतिकात्मक थियो। मैले कुरा बुझेँ र मैले तपाईंहरु मिल्नुहोस् भने। तपाईंहरु मिल्नुहोस्, हामी प्रतिपक्षमा बस्छौँ भनेर भनेको थिएँ। जे भयो भयो।’ उनले भ्रष्टाचारविरुद्ध लड्दा लड्दै आफूलाई हटाएको हो भनेर जनताले बुझेको दाबी गरे।


