काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा जाने भएकी छन्। बिहान साढे ११ बजे मन्त्री देउवा नयाँदिल्ली प्रस्थान गर्नेछिन्।
परराष्ट्र मन्त्रालयका अनुसार भारतीय विदेशमन्त्री एस जयशंकरको औपचारिक निमन्त्रणामा आरजु नयाँदिल्ली जान लागेकी हुन्।
विदेशमन्त्री जयशंकरसँग दुईपक्षीय हित र नेपाल-भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयको भनाइ छ। देउवाले सोमबार भारतका विदेशमन्त्री एस. जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने भएकी छन्।
आरजूले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तयारीबारे छलफल गर्ने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण गराउन पहल पनि गर्ने उनको सचिवालयको दाबी छ।
भ्रमणकै क्रममा राणाले आफ्नो स्वास्थ्य परिक्षण पनि गर्ने छिन्। आरजू भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ।


