काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ५ पटक प्रधानमन्त्री बनेर पनि काम गर्न नसकेको आरोप कमजोर पार्ने गरी ढाडस दिएका छन्।
कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको दोस्रो स्मृति कार्यक्रममा बोल्दै पोखरेलले देउवालाई ढाडस दिएका हुन्। देउवा ५ पटक प्रधानमन्त्री बनेको भएपनि उनको प्रधानमन्त्रीत्वकाल एक कार्यकाल (५ वर्ष) बराबर पनि नभएको टिप्पणी गरे।
‘शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुनुभयो। अब छैटौँपटक प्रधानमन्त्री हुने तयारीमा हुनुहुन्छ भन्दा कति पटक भएको भन्ने प्रश्न खडा हुन्छ। ५ पटक हुनुभयो, तर एक कार्यकाल बराबरको नेतृत्व गर्नुभएको छैन नेपालको राजनीतिको विडम्बना त यही हो नि’, उनले भने।
राजनीतिक दल र नेताले आफ्नो नीति अनुसार देश चलाउन कम्तीमा एक कार्यकाल पाउनुपर्ने उनको भनाइ छ। ‘हेर्दा पाँचपटक प्रधानमन्त्री हुनुभयो । समयका हिसाबले कति हुनुभयो ?’, पोखरेलले भने, ‘एउटा अवधि पाँच वर्षको हुन्छ। के धेरै हुुनुभयो भन्या?’


