काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले अर्थतन्त्रमा बिस्तारै सुधार देखिदा समग्र बजार चलायमान हुन थालेकाले यो अवसर सदुपयोग गर्न आग्रह गरेका छन्।
महासंघले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा बोल्दै अध्यक्ष ढकालले सरकारले स्थायित्व दिने विश्वासमा अर्थतन्त्रमा सुधारका स्पष्ट सकेत देखिएको बताएका हुन्।
बजारमा देखिएको सुधारलाई ध्यान दिएर स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्न सरकार र निजी क्षेत्र बिच थप सहकार्यका लागि पनि अध्यक्ष ढकालले आग्रह गरेका छन्।
देशभित्र सेयर बजारमा उत्साह छ भने घरजग्गा कारोबार पनि बिस्तारै बढ्न थालेको र कर्जाको मागमा पनि सुधार भइरहेकाले यसलाई अझै चलायमान बनाउन आवश्यक रहेको अध्यक्ष ढकालले उल्लेख गरे।
थप पर्यटक आकर्षित गर्न पोखर तथा भैरहवाका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन भइरहेका पहलको स्वागत गर्दै अध्यक्ष ढकालले स्वदेशी र विदेशी पर्यटकलाई लाग्ने शुल्कको अन्तर हटाउन तथा हवाई यात्रा सुलभ र सस्तो बनाउन पहल लिने समय आएको तर्फ पनि अध्यक्ष ढकालले ध्यानाकर्षण गराए।
निकट भविष्यमा हुने प्रधानमन्त्रीको थाइल्यान्ड भ्रमणका क्रममा नेपाल थाइल्यान्ड बिजनेस फोरम आयोजना गरी विदेशी लगानी भित्र्याउने पहलमा साथ दिन महासंघले हरतरहले काम गरिरहेको पनि अध्यक्ष ढकालले बताए।
यसअघि महासंघले भारतमा दुइपटक र चीन तथा दुबईमा यस्तै चार वटा लगानी पवर्द्धन कार्यक्रम आयोजना गरिसकेको छ। लगानीकर्ताहरुको माग बमोजिम महासंघले स्थापना गरेको विदेशी लगानी सहायता कक्षले लगानीकर्ताहरूलाई सहयोग पुर्याइरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे।
सानो लगानी भएका तर ठाउँ नपाएका साना लगानीकर्ताहरूलाई समेटेर महासंघको पहलमा नेपाल डेभलेपमेन्ट कम्पनी स्थापना भएको जानकारी गराउँदै अध्यक्ष ढकालले यसबाट हामी स्टार्ट अप, जलविद्युत लगायतका पूर्वाधार एवं सार्वजनिक संस्थानहरूको क्षमता विस्तारमा लगानी गर्ने योजना रहेको पनि अध्यक्ष ढकालले बताए।


