झापा- झापाको कचनकवल गाउँपालिका-१ घेराबारीस्थित नेपाल-भारत सीमाको दसगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयले अवरोध गरेका छन्।
गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल-१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिए।
‘दसगजामा भारतीयले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ। मान्छे नभएको बेला राति-राति बाटो खन्ने गरिएको रहेछ,’ उनले भने।
यसअघि पनि पटक-पटक बाटो खन्न खोज्दा अवरोध गरिएको थियो।
हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको भन्दै वडाध्यक्षले थपे, ‘हामीले खनिएको बाटो पुर्ने प्रयास गरेका छौं। तर, दिइएको छैन।’
कचनकवल-१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दसगजामा खनिएको छ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दसगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको र विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको बताए।


