काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीका सम्बन्धमा प्रमाण माग गरिरहेपछि नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जवाफ दिएका छन्।
प्रतिनिधिसभाको विशेष समयमा थापासँग लामिछानेले प्रमाण खोइ! भन्दै माग गरेपछि उत्तर दिएका थिए। थापाले संसदमा प्रमाण छ भनेको तर आफूमाथि छानबिन गर्न बनेको समितिलाई भने नदिएको टिप्पणी गरेका थिए।
उक्त कुरालाई स्मरण गर्दै उनले भने, ‘हामीसँग भएको तथ्य प्रमाण पुगेन होला समितिमा? हाम्रा साथीहरुले बोकेर जानुभएको छैन होला?’
उनले ९ घण्टा बयान दिएर आएपछि आफूले सहकारीको रकम अपचलन नगरेको प्रमाण दिएर आएको बयान दिएका थिए।
‘यसो ख्याल गर्नुभएन, ९ मिनेटमा चट भनेको ठाउँमा ९ घण्टासम्म बयान दिनुपर्ने अवस्था त्यही तथ्य प्रमाण भएकाले आएको होइन होला,’ उनले भने।
‘बरु रास्वपपाका साथीहरु झुक्किनुभयो कि भन्ने लागेको छ’, उनले अगाडि भने, ‘बयान हो, बयान। सफाइ होइन,’ आफूलाई समितिमाथि पूर्ण विश्वास रहेको महामन्त्री थापाले बताए, ‘फैसला त आउनै बाँकी छ। त्यसैले म त फैसला कुरेर बसेको छु । तथ्य प्रमाणका आधारमा फैसला आउँछ भनेर बसिरहेको छु।’
बरु समितिमा रहेका रास्वपाका सदस्यलाई अप्ठ्यारो पर्नसक्ने उनले बताए। ‘किनकी कालोलाई सेतो कसरी भन्नु ? कालोलाई कालै भन्नुपर्ला। अलिअलि मैलो भएपनि कालै भन्नुपर्ने अवस्था आउँछ होला’, महामन्त्री थापाले भने, ‘त्यसैले दिन गनौं, राम्रोसँग गनौं। औला भाँचेर गनौं, लेखेर गनौं। फैसला आउने दिन गनौं।’


