विराटनगर- मोरङको सुन्दरहरैँचामा दुई बालिकाको हत्या गरिएको छ। सुन्दरहरैंचा-७ गोठगाउँमा दिदीबहिनीको हत्या भएको हो।
धनकुटा पाख्रिबास-४ डिकुरे घर भएका ३१ वर्षीय अर्जुन कार्की श्रीमती अस्मिता पौडेल र दुई छोरीसहित मोरङ सुन्दरहरैंचा-७ मालतीटोलमा बस्दै आएका थिए।
उनीहरू बस्ने घर अर्जुनकी दिदी सिता रेग्मीको घर हो। हत्या गरिएका दिदीबहिनी अर्जुन र अस्मिताका छोरी हुन्। ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्की मृत भेटिएका हुन्। उनीहरू केरा बगानमा भेटिएका हुन्।
दिदीबहिनीको शव भेटिएको स्थानमा विष पनि भेटिएकाले उनीहरूलाई विष खुवाएर हत्या गरिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले बताए।
प्रहरीका अनुसार अर्जुन र अस्मिताबीच बिहान भनाभन भएको थियो। ‘दिउँसो साढे ४ बजे दुई छोरी मृत भेटिएका हुन्,’ कार्कीले भने, ‘अस्मिता फरार छिन्।’
घटनास्थलमा पुगेर छानबिन भइरहेको प्रहरीले जनाएको छ।


