काठमाडौँ- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सुधार हुँदै गइरहेको र मौद्रिक तथा वित्तीय सूचक सहज बन्दै गएको बताएका छन्। आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २६ औं वार्षिक साधारण सभाका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
‘बाह्य क्षेत्र सहज हुँदै गएको छ। मुद्रास्फीति घटेको छ। बैंक तथा वित्तीय संस्थामा तरलता बढेको छ। अटोमोबाइल र पुँजीबजारलगायत क्षेत्र चलायमान हुँदै गएको छ’, गभर्नर अधिकारीले भने, ‘चालु आर्थिक वर्षबाट नयाँ ढङ्गले अर्थतन्त्र चलायमान हुन्छ। हाम्रो प्रणालीमा के–के समस्या छ भनेर हेरेर त्यसलाई नीतिगत रुपमा समाधान गर्दै जाने छौँ।’
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न बनेको विधेयकमा भएका व्यवस्था निजी क्षेत्रमैत्री नरहेको बताए। बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थाका संस्थापक लगानीकर्ताले अन्य क्षेत्रमा लगानी गर्न समस्या सिर्जना गर्नसक्ने उनको भनाईं छ।
‘बाफिया विधेयकले बैंक तथा वित्तीय संस्थामा संस्थापक र ऋणी छुट्याउनुपर्ने भन्ने व्यवस्था संशोधनीय छ’, ढकालले भने, ‘अख्तियार र सतर्कता केन्द्रले निजी क्षेत्रको नियमन अनुगमन गर्ने व्यवस्था ल्याउँदा त्यसले थप समस्या पार्छ।’ निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी चाँडो गरिनुपर्ने, भारतसँगका सीमा नाकामा हुने अवैध आयात तथा कारोबार रोकिनुपर्ने, भारतीय पर्यटकले नेपालमा बोक्न मिल्ने नगदसम्बन्धी व्यवस्था थप लचिलो बनाइनुपर्ने उनको माग छ।
सेजनलाई २६ औं वार्षिक साधारण सभाको शुभकामना दिँदै नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहे पनि आन्तरिक उत्पादन तथा माग बढ्न नसकेको बताए। ‘बाह्यक्षेत्र सन्तुलनमा छ। बजारमा तरलता पर्याप्त छ। ब्याजदर पनि घटेको छ। तर अहिले आयात र निर्यात घेटेको छ। यसको अर्थ बजारमा माग बढ्न सकेको छैन भन्ने हो’, अध्यक्ष अग्रवालले भने। अर्थतन्त्र सुधारका लागि उत्पादन क्षेत्रमा सुधार गरी आन्तरिक माग बढ्नुपर्ने, सरकारको वार्षिक बजेट प्रभावकारी कार्यान्वयन हुनुपर्ने, लक्षित आर्थिक वृद्धिदर हासिल गर्नका लागि पुँजीगत खर्च बढाउनुपर्ने, निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी चाँडो हुनुपर्ने, दिगो पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने अग्रवालको भनाइ छ।
सेजन अध्यक्ष सुजन ओलीले अध्यक्ष भएको एक वर्षमा तीन अर्थएमन्त्रीसँग सहकार्य गरेको भन्दै यसले देशको राजनीतिक अस्थिरता देखाएको बताए। ‘गत भदौमा हाम्रो कार्यकाल सुरु भएपछि तीन जना अर्थमन्त्रीसँग सहकार्य गर्न मौका मिल्यो। यसले हाम्रो राजनीति अस्थिरता देखाएको छ। राजनीति स्थिर भएमात्रै अर्थतन्त्रमा सुधार आउँछ ‘, उनले भने, ‘अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्ने आर्थिक पत्रकारहरुको संस्था भएकाले पनि यसमा हाम्रो चासो र चिन्ता रहेको छ। यसमा अन्य अर्थ भनदा पनि राजनीतिक अस्थिरता प्रतिविम्बित भएको छ। ‘
यस्तै सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले सेजन जुन सोचले सुरु गरेको सोही अनुसार अघि बढेकोमा खुसी व्यक्त गरे। ‘हामीले सेजन सुरु गर्दा जुन उद्देश्यले गरेका थियौं सोही अनुसार अघि बढेको छ। हालका अध्यक्षसम्म आइपुग्दा संस्था झन बलियो भएर गएको छ’, उनले भने, ‘कतिपय अवस्थामा यसमा गलत तत्व हावी हुँदै गएको भन्ने आरोप लागेको छ यसमा भने सेजन चनाखो हुनुपर्छ।’ सबैमा राजनीतिक आस्था भएपनि संस्था र समाचारमा त्यो देखाउन नहुने प्रधानले बताए।


