काठमाडौँ- नेकपा माओवादी केन्द्रले उपमहासचिव जनार्दन शर्माका विषयमा गरेको निर्णय ‘बोल्ड’ गर्दै पार्टीमा सर्कुलर जारी गरेको छ।
अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले जारी गरेको सर्कुलरमा शर्माबारे गरिएको निर्णयलाई ‘बोल्ड’ गरिएको छ।
‘उपमहासचिव क जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नभएको’ भन्ने वाक्यांश बोल्ड गरिएको छ।
हालै सम्पन्न स्थायी समिति बैठकमा शर्माले लिखित मन्तव्य राख्दै अध्यक्ष प्रचण्डले नै जनार्दनले पार्टी फुटाउँदैछ भन्ने हल्ला चलाएको बताएका थिए।
यसको जवाफ दिँदै अध्यक्ष प्रचण्डले आफूले त्यस्तो कुरा अरुबाट मात्रै सुनेको प्रष्टीकरण दिएका थिए।
बैठक समापन गर्ने बेलामा जनार्दनले पार्टी नफुटाउने निष्कर्ष प्रचण्डले निकालेका थिए। त्यही आशयको सर्कुलर २ भदौमा जारी भयो।
तर त्यसले पनि विवाद साम्य गर्न सकेन। आइतबार नयाँ सर्कुलर जारी गरियो।
भदौ २ गते जारी सर्कुलरमा थप भएका विषयलाई बोल्ड गरेर सर्कुलर जारी गरिएको हो।


