काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्न नहुने बताएका छन्।
आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका हुन्।
देउवा प्रधानमन्त्री बन्न नहुने बताएका शर्माले हालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सफल बनाउन भने ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी छ।
‘एमाले अध्यक्ष केपी ओलीको नेतृत्वको सरकारलाई र उहाँको नेतृत्वलाई सफल बनाउन कांग्रेसले सम्पूर्ण ध्यान लगाउनुपर्छ। एकताबद्ध रुपले साथ दिनुपर्छ। तर त्यसपछि सभापति देउवा प्रधानमन्त्री बन्नुहुन्न,’ शर्माले भने।
प्रतिनिधिसभामा कांग्रेसबाट एक-से-एक अग्रज नेता रहेको भन्दै उनीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्माले बताए।
‘उहाँहरु मध्ये कसैलाई पनि हामीले प्रधानमन्त्री बनायौं भने एक त, सभापतिको त्याग देखिन्छ। दुई, उहाँको समकालीन कोही नेतालाई न्याय र कदर हुन्छ,’ उनले भने, ‘तीन, तब ०८४ पछि हामी नयाँ अनुहारमा पुग्नेछौं।’
शर्माले डा.शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, डा शशांक कोइराला र अर्जुननरसिंह केसीमध्ये एकलाई प्रधानमन्त्री बनाउन देउवालाई सुझाव दिएका थिए।
तर सभापति शेरबहादुर देउवाले भने महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री नबन्न गरेको आग्रह इन्कार गरेका छन्।
शर्माले बोल्दाबोल्दै प्रतिवाद गरेर देउवाले भनेका थिए, ‘तपाईँले भनेर मैले त्याग गर्ने हो?’


