पोखरा- गण्डकी प्रदेशका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले राजीनामा दिएका छन्।
सोमबार एमालेका ४ जना मन्त्री थपेर सरकार पुनर्गठन गरेका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई स्वकीय सचिवमार्फत् उनले राजीनामा पठाएका हुन्।
‘राजीनामापत्र स्वकीयसचिव सन्तोष अधिकारीलाई पठाएको छु,’ उनले भने।
उनले अब आफूलाई मन्त्री बन्नका लागि कुनै उत्साह नभएको समेत उल्लेख गरे। अब रेस्ट गरेर बस्ने उनको भनाइ छ।
मनाङेले मन्त्रालय विभाजनमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन्।
सरकार पुनर्गठन हुनुअघि उनी भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री थिए। पुनर्गठन भएपछि उनले वन तथा वातावरण मन्त्रालय पाए।
उनले वन मन्त्रालयमा बजेट नहुने भएकाले त्यहाँ जान आफूलाई इच्छा नलागेको बताएका छन्।
मनाङेले सरकार पुनर्गठन हुँदा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय माग गरेका थिए। तर उक्त मन्त्रालय कांग्रेस सांसद विन्दुकुमार थापालाई दिइएको छ।
‘वनमा बजेट छैन। मन्त्रालय हामीले हेर्न पनि पाउँदैन,’ उनले भने, ‘झन्डा हल्लाएर हिँडेर काम छैन। हामीले तितपातीको झ्याङ हेर्ने हो।’
वन तथा वन तथा वातावरण मन्त्रालय मनाङबाटै निर्वाचित भएका प्रदेश सांसद मुनिन्द्रजंग गुरूङले पाएका छन्।
उनलाई पनि राजीनामा दिन मनाङेले आग्रह गरे। ‘तल्लो मनाङको भाइ मुनिन्द्रलाई पनि राजीनामा देउ भनेको छु,’ उनले भने, ‘नयाँ केटाहरुलाई अनुभव हुन्छ।’


