काठमाडौँ- कतारका लागि प्रस्तावित राजदूत रमेशचन्द्र पौडेलले कतारमा नेपालको पानी बिक्री गर्नका लागि पहल गर्ने दाबी गरेका छन्।
मंगलबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा सांसदहरूलाई आफ्ना योजना सुनाउँदै पौडेलले यस्तो बताएका हुन्।
सांसदहरूले नेपालको पानी कतारमा बिक्री गर्न सकिन्छ कि सकिँदैन भन्ने प्रश्नमा उनले त्यसका लागि पनि आफूले पहल गर्ने बताए।
कतारसँग पानी व्यापार, अलैँची लगायत अर्थोडक्स चिया लगायत थुप्रै कुराहरू रहेको र यस्ता कुरा कतार पुर्याएर बिक्री गर्न त्यत्तिकै जटिल रहेको पनि उल्लेख गरेका थिए।
उनले विगतमा आफू अलि–अलि राजनीति सामाजिक क्षेत्रमा पनि लागेको तर अहिले जिम्मेवारीमा नरहेको बताए। आफ्नो अध्ययन औद्योगिक क्षेत्र रहेको, मास्टर डिग्री गर्दा श्रमिकको विषयमा थेसिस गरेको बताउँदै श्रमिक व्यवस्थापन र समस्याका बारेमा आफूले विगतमा धेरै अनुसन्धान गरेको उल्लेख गरे ।
श्रमिकका बारेमा आफूलाई ज्ञान र अनुभव रहेको बताउँदै उनले विराटनगर जुट मिलको पुनर्संरचनाको लागि ६ महिना लागिपरेर त्यसको प्रतिवेदन पनि नेपाल सरकारलाई बुझाएको उल्लेख गरे।
आफ्नो पहिलो प्राथमिकता श्रमिकका समस्या समाधान हुने बताएका छन्। श्रमिकका समस्या समाधानका लागि लाग्ने, व्यापारसँग जोडिएका कुराहरू, प्रत्यक्ष एफडिआई भित्राउने विषयमा लागिपर्ने बताए ।
‘श्रमिकहरूका कार्यस्थलका समस्याका कुराहरू आए, तलबका कुरा आए। त्यहाँ श्रमिकको न्यूनतम तलब १ हजार रियाल, ५ सय रुपैयाँ आवासका लागि र ३ सय रियाल खाना खर्च भनेर दिने गरेको रहेछ। यसलाई नेपालीमा रूपान्तरमा गर्दा तुलनात्मक रूपमा कम नै हो,’ उनले भने।
कतारले आफ्ना नागरिकले काम गर्दा जति पाउँछन् त्यही अनुसार सेवा सुविधा दिने भनेको तर पनि त्यो नपाएकोले त्यसलाई संशोधनका लागि प्रयास गर्ने बताए।


