काठमाडौँ– नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाज भड्काउन खोजेको आरोप लगाएका छन्।
मंगलबार पोलिटब्युरो कमिटीको बैठकमा ओलीले सत्ताविमुख भएपछि प्रचण्डले त्यस्तो दुष्प्रयास गरिरहेको बताएका हुन्।
‘केही मान्छेहरू भड्काउने, विद्रोह गराउने दुष्प्रयासमा छन्। थोरै भोट ल्याए पनि सत्तामा कहिले पनि छुटेनन्,’ ओलीले भनेका थिए, ‘सत्तामा रहँदा आफू बिगार्ने अनि बाहिरिनबित्तिकै विद्रोह गराउने, मान्छे उचाल्ने खेतीपाती गरिरहेका छन्। त्यो सफल हुँदैन।’
बैठकमा ओलीले कांग्रेससँग समीकरण गर्नुपर्नाको कारणबारे ब्रिफिङ गरेका थिए। उनले सरकार देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको पनि बताए।
आफू सरकारमा आएपछि केही सूचकहरू सकारात्मक भएको जिकिर प्रधानमन्त्रीको थियो।


