काठमाडौँ– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको म्याद १५ दिन थप भएको छ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकले समितिलाई थप १५ दिन म्याद दिएको हो।
समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यविधि थप गर्नका लागि प्रस्ताव प्रस्तुत गरेका थिए।
उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको हो।
प्रस्ताव प्रस्तुत गर्दै थापाले समितिले हालसम्म गरेका कामहरूको बारेमा संक्षेपमा जानकारी गराए।
उनले सहकारी बचत अपचलनमा संलग्न ५० जनालाई सोधपुछ गरिएको बताए।
समितिले सार्वजनिक बिदाको दिनसहित मध्यरातसम्म काम गरेको उनले सदनलाई जानकारी गराए।


