काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले यही भदौ ११ गतेदेखि बक्यौता नतिर्ने औद्योगिक, व्यापारिक तथा गार्हस्थ्य लगायत सबै प्रकारका ग्राहकहरुको लाइन काट्ने अभियान तीव्र पारेको छ।
प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालका अनुसार गत भदौ ११ गतेदेखि आजको मितिसम्म ९ हजार ग्राहकको लाइन काटिएको छ।
लाइन काटिएका गाहकहरुको कुल बक्यौता रकम १० करोड रुपैयाँ बराबर रहेको सिलवालले जानकारी दिए।
विद्युत् महसुल संकलन विनियमावली, २०७९ अनुसार बिजुली बत्ती उपभोग गरेबापतको बक्यौता रकम ६० दिनभित्र नतिरे लाइन काट्न सकिन्छ। सोही प्रावधानबमोजिम लाइन काटिएको हो।
‘लाइन नकाटी बक्यौता उठ्दैन, यो अहिलेदेखि होइन, पहिलेदेखिकै प्रवृत्ति हो,’ सिलवालले बिहीबार जलसरोकारलाई भने, ‘देशैभर लाइन काट्ने अभियान तीव्र छ।’
प्राधिकरणले लोडसेडिङका बेला विशेष गुणस्तरयुक्त बिजुली उपभोग गरेका ६१ वटा डेडिकेटेड तथा ट्रंक लाइनवालाको लाइन काट्दा प्रधानमन्त्री केपी ओलीले नै रोक लगाउन खोजेका थिए। महालेखा परीक्षकको प्रतिवेदनअनुसार यी ६१ उद्योगले २१ अर्ब ८८ करोड रुपैयाँ बुझाउन बाँकी छ।
प्राधिकरणले गत असार अन्तिम साता लाइन काटिएका ६ उद्योगहरुलाई तीन महिनाभित्र बक्यौता भुक्तानी गर्ने गरी पुनः लाइन जोडेको थियो। तीन महिना पुग्ने ४५ दिनअघि बक्यौता उठाउन ताकेता गरिने सिलवालले बताए।
‘४५ दिनअघि हामी पुनः पत्राचार गर्नेछौं,’ उनले भने, ‘त्यसपछि उही प्रक्रियाअनुसार जाने हो।’


