काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निजी अस्पतालबाट पनि बीमा सुविधा लिन सकिने व्यवस्था गर्न लागिएको बताएका छन्।
एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६औँ वार्षिक दिवसको उपलक्ष्यमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने तर निजीमा लिन नपाइने अवस्थाको अन्त्य गर्दै सबै अस्पतालहरूमा बीमा सुविधा हुनुपर्ने उनले बताए।
‘सरकारी अस्पतालमा मात्रै बिमाको सुविधा लिन पाइने निजीमा नपाइने भन्ने हुँदैन। शुल्क तलमाथि भयो भने उपभोक्ताले रोज्ने कुरा भयो। निजीमा महङ्गो हुन्छ, मेरो बीमाको पैसा धेरै जान्छ। सरकारीमा कम हुन्छ मेरो बीमाको पैसाले अलि धेरै काम गर्छ भन्ने भयो भने त्यो सरकारीतिरै जान्छ। शुल्क समान भयो भने निजीलाई नदिनुपर्ने के कारण छ?,’ उनले भने।
निजी अस्पतालले १० प्रतिशतलाई निःशुल्क उपचार गर्ने कुरालाई पारदर्शी बनाउन पनि आग्रह गरेका थिए।
बिमा कार्यान्वयनमा देखिएको समस्यालाई समाधान गरिने उनको भनाइ थियो।


