काठमाडौँ- प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रेस युनियन केन्द्रीय समितिले ‘पत्रकारिताका सन्दर्भमा बीपी’ विषयक कार्यक्रम आयोजना गर्यो।
कार्यक्रममा वक्ताहरूले बीपीले फरक विचार राख्ने पत्रकारलाई ‘मैले काम गर्दा गल्ती होलान् ती विषयको आलोचनात्मक समाचार लेखिदिनु’ भनेर पत्रकारिताप्रतिको उच्च सम्मान व्यक्त गरेको प्रसङ्गको चर्चा गरे।
वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक कमल कोइरालाले विसं २०१५ को निर्वाचनपछि प्रतिपक्षी दल कमजोर भएका बेला दुई तिहाइ मत ल्याएर प्रधानमन्त्री बनेका बीपीले व्यक्त गरेको यस्तो विचारले पत्रकारिताप्रति उनको धारणा प्रष्ट हुने बताए।
सरकारका गलत कामको आलोचना गरेवापत् राज्यबाट पत्रपत्रिकालाई विज्ञापन दिने व्यवस्था बीपीकै नेतृत्वको सरकारले गरेको बताउँदै सोही व्यवस्थालाई हाल लोक कल्याणकारी विज्ञापन भन्ने गरिएको उल्लेख गरे।
‘पिताजी कृष्णप्रसाद कोइरालादेखि नै हाम्रो परिवारको पत्रकारितामा योगदान छ, कृष्णप्रसादले सूर्यविक्रम ज्ञवाली सम्पादक रहनुभएको जन्मभूमि पत्रिकामा लेख्ने गर्नुहुन्थ्यो। बीपी पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा पत्रकारितामा सङ्लग्न हुनुहुन्थ्यो। साहित्यिक पत्रिका शारदामा पनि उहाँको योगदान छ,’ बीपीका दाजु मातृकाप्रसाद कोइरालाका छोरा वरिष्ठ पत्रकार कमल कोइरालाले भने।
पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका बेला कम्युनिस्ट पार्टी निकट रहेका मदनमणि दीक्षितलाई बीपीले सरकारका गलत कामको आलोचना गरेर लेख्नु भनेका थिए। वर्तमान नेतृत्वले पनि बीपीलाई अवलम्बन गर्नुपर्ने उनको भनाइ थियो। गलत काम औँल्याइदिने प्रेसको सहयोगमा आफ्नो कमजोरी थाहा पाएर सच्चिने अवसर मिल्छ भन्ने बीपीको विचार रहेको पनि कोइरालाले जानकारी गराए।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले बीपीलाई राजनीति, साहित्य, दर्शनलगायत विषयमा विभिन्न कार्यक्रम गर्ने गरिए पनि पत्रकारितासँग जोडेर पहिलोपटक बहस चलाएकामा खुसी व्यक्त गरे। बीपीलाई बुझ्न उनले पत्रकारिता क्षेत्रलाई कसरी हेर्दथे भन्ने अध्ययन हुनु आवश्यक रहेकामा उनले जोड दिए।
बीपीको सान्निध्य र प्रेरणाले नै आफू पत्रकारितामा लागेको उल्लेख गर्नुहुँदै विरहीले पत्रकारिता र पत्रकारले कसरी भूमिका निर्वाह गरेको छ भन्ने बीपीले सूक्ष्मरुपमा हेर्ने गरेको प्रसङ्ग उल्लेख गरे।
‘पञ्चायतकालमा बीपी भारत निर्वासनमा बस्दा नेपालका गुप्तचर पत्रकारको भेषमा बीपीको कुरा बुझ्न र त्यहाँको अवस्था हेर्न जान्थे, तिनलाई चिनेर पनि बीपी सहज रूपमा अन्तरवार्ता दिनुहुन्थ्यो, उनीहरूलाई नि उहाँले हामीलाई जत्तिकै समान व्यवहार गर्नुभयो,’ कोइरालाको स्मरण थियो।
महासङ्घका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार किशोर नेपालले नेपाली प्रेस जगतले पहिलोपटक बीपी जयन्ती मनाएकामा खुसी व्यक्त गरे। पत्रकारिता क्षेत्रलाई माया गर्ने राजनीतिज्ञ चिन्न यस क्षेत्रले लामो समय लगाएको धारणा उनको थियो।
व्यक्ति केन्द्रित अहिलेको समाजमा भएका विषयलाई पत्रकारिताले पस्कन नसकेको अवस्था रहेको र यसमा परिवर्तन गर्नुपर्ने आवश्यकता उनले औँल्याए। ‘पत्रकारले समाज र देशलाई बलियो बनाउने गरी काम गर्नुपर्छ, भाषाको सही प्रयोग गरेर जनचासोका विषयमा समाचार बनाउनुपर्छ, बीपीले पत्रकारिता क्षेत्रबाट गर्नुभएको अपेक्षा पनि यही हो,’ उनले भने।
युनियनका अध्यक्ष शिव लम्सालले प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता बीपीको पत्रकारिता बारेको बुझाइ, सहयोग र विविध आयामबारे उजागर गर्न प्रारम्भ गरिएकाले यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। भदौ २४ अर्थात् बीपी जयन्तीको पूर्वसन्ध्यामा युनियनले कार्यक्रम आयोजना गरेको हो।


