धनगढी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडिया नेटववर्क (ग्यालेक्सी फोरके टेलिभिजन)मा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन्।
सोमबार धनगढीमा पत्रकारहरूसँग कुराकानी गर्दै पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेले यस्तो स्वीकार गरेका हुन्। आफू प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा सहकारीको रकम लगानीका रुपमा आएको उनको स्वीकारोक्ति छ।
‘गोर्खा मिडियालगायतका ठाउँमा गलत ढंगबाट सहकारी संस्थाको रकम आएको कुरा ठीक हो,’ उनले पत्रकारहरूसँग भने, ‘त्यो स्थापित भइसकेको कुरा हो। अनुसन्धानले पनि देखाइसकेको कुरा हो। तर, त्यो कसले गर्यो भन्ने कुरा अदालतमा प्रवेश गरिसकेको छ। क-कसले बदमासी गरेका थिए भन्ने अब स्पष्ट भइसकेको छ।’
ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई र रवि लामिछानेले गोर्खा मिडियाका साझेदार हुन्। टेलिभिजनका लागि बुटवलको सुप्रिम सहकारी संस्था र पोखराको सूर्यदर्शन सहकारी संस्थाको करोडौँ बचत रकम अनधिकृत ढंगबाट लगानीका रुपमा भित्र्याइएको थियो। लामिछानेले यसअघि यसबारेमा आफूलाई थाहा नभएको जिकिर गर्दै आएका थिए।
सहकारीको रकम अपचलनमा रविको समेत संलग्नता भएको आरोप लागेपछि संसदले विशेष छानबिन समिति बनाएको छ। एमाले सांसद सूर्य थापाको सभापतित्वमा गठन भएको समितिले अनुसन्धान गरिरहेको छ।
लामिछानेले उक्त समितिमा ९ घण्टा लामो बयान दिइसकेका छन्। तर आफू भने सहकारीको रकम ठगीमा संलग्न नभएको उनले बयान दिएका थिए।
यसबीचमा कास्की प्रहरीका अधिकृतहरू काठमाडौंमै आएर पनि उनीसँग बयान लिइरहेका छन्।
रविका साझेदार जीबी भने मलेसियामा लुकेर बसेको भन्दै नेपाल प्रहरीको टोली उतै पुगेर खोजी गरिरहेको छ। नेपाल प्रहरीको टोली गोप्य रुपमा मलेसिया पुगेर पहिलो पटक खोजी गर्दा जीबी भेटिएका थिएनन्।


