काठमाडौँ- सत्तारुढ दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत सहभागी छन्।
बैठक अपराह्न ४ बजे सुरु हुने बताइएपनि देउवा साढे ४ बजे मात्रै बालुवाटार पुगेका थिए।
देउवा प्रवेश गरेलगत्तै बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा बैठकमा छलफल हुने बताइएको छ।
सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पार्न नेपाली कांग्रेस र नेकपा एमालेले कार्यदल गठन गरिसकेका छन्।
कार्यदलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रकाशशरण महत छन् भने एमालेबाट उपमहासचिवद्वदय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्।
सत्ताका ठूला दलले कार्यदल गठनमा साना दललाई भने बेवास्ता गरेका छन्। सरकारमा जसपा, लोसपा र नाउपा सहभागी भएपनि उनीहरूका प्रतिनिधि भने सहभागी छैनन्। कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमबारे अरु सत्तारुढ दलहरुसँग पनि छलफल गर्ने छ।
आइतबार साँझ कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव गरेका थिए।
आइतबारको बैठकमा देउवाका साथमा परराष्ट्रमन्त्री आरजु देउवा र गृहमन्त्री रमेश लेखक पनि थिए।
एमालेबाट प्रधानमन्त्री ओलीका साथै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र महासचिव शंकर पोखरेल बैठकमा सहभागी थिए।
कांग्रेस र एमालेबीच असार १७ गते सातबुँदे सहमति भएअनुसार कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।
ओली सरकारमा जसपा, लोसपा र नउपा जनमतका सांसद पनि मन्त्री छन् भने जनमत पार्टीको पनि समर्थन छ।
सरकार बनेको दुई महिना पुग्न लाग्दा पनि न्यूनतम साझा कार्यक्रम भने बनेको छैन।


