काठमाडौँ- निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर १६ गते उपनिर्वाचनको मिति तोक्न प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी थपलियासहितका पदाधिकारीले यस्तो प्रस्ताव गरेका हुन्।
आयोगले पहिले स्थानीय तहको उपनिर्वाचन गर्ने तयारी अघि बढाएको छ।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो।
भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जानकारी दिएका थिए।
निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न ओलीको आग्रह थियो।
भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए।


