काठमाडाैँ- सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन्। सोमबार बसेको संवैधानिक परिषदको वैठकले वरिष्ठताका आधारमा उनलाई छनोट गरिएको उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन्।
शुक्रबार बसेको संवैधानिक परिषद् बैठकमा प्रकाशमानसिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नु नहुने भन्दै उपसभामुखसमेत रहेकी परिषद सदस्य इन्दिरा रानामगरले प्रश्न उठाएकी थिइन्। यसपछि शुक्रबारको बैठक अनिर्णीत भएको थियो।
रानाले वरिष्ठताका आधारमा मात्र प्रधानन्यायाधीश छनोट गर्न उचित नहुने भन्दै व्यक्तिका सबै पक्षमा राम्रोसँग अध्ययन अनुसन्धान गरेर मात्र निर्णय लिनुपर्ने बताएकी थिइन्। श्रीमतीसँगको सम्बन्ध कारण पनि राउत विवादित रहेको प्रसंग उनले उठाएकी थिइन्।
राउतको दाम्पत्य जीवनबारे प्रश्न उठेपछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले वरिष्ठताकै आधारमा नियुक्त गर्नुपर्ने बताएका थिए। उनले राउत असल मान्छे भएकोसमेत बताएका थिए।
न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका सर्वोच्च अदालतका ८ न्यायाधीशको सूची गत भदौ २० गते संवैधानिक परिषद्मा पठाएको थियो। परिषद्ले प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चूडाल र नहकुल सुवेदीको नाम पठाएको थियो।
हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट ६५ वर्षे उमेर हदको कारण अवकाश पाउँदैछन्।
प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिनाअगावै नयाँ नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने संवैधानिक व्यवस्था छ।
२०१७ चैत ६ गते उदयपुरमा जन्मिएका राउत संसदीय सुनुवाई समितिबाट अनुमोदित भएमा २०८२ चैत ६ सम्म प्रधानन्यायाधीश रहनेछन्। प्रधानन्याधीश र सर्वोच्च अदालतका न्यायाधीशको उमेर हद ६५ वर्ष छ।
२०७३ साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका राउतले त्रिभुवन विश्वविद्यालय, नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन्।
२०४० सालदेखि २०७३ सालसम्म ३३ वर्ष उनले वकालती गरेका थिए।
नेपाल बार एसोसिएसनमा संवैधानिक समितिको संयोजकको रुपमा समेत काम गरेका उनी २०६३ सालमा सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्ष बनेका थिए।


