धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष सुरु भएको दुई महिनापछि बजेट ल्याएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभामा चालु आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गरेका हुन् ।
थापाले ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएका छन्। तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा पेस गरेको बजेटलाई परिमार्जन गर्दै सोमबार थापाले बजेट ल्याएका हुन्।
तत्कालीन दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले पनि यही आकारको बजेट ल्याएको थियो। तर उक्त बजेटको योजना तथा कार्यक्रम परिमार्जन गरिएको छ।
थापाले चालु वर्षका लागि चालु खर्चतर्फ १२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार बजेट विनियोजन गरेको जानकारी दिएका छन्।
सुदूरपश्चिममा गत आर्थिक वर्षका लागि २९ अर्ब २६ करोड रुपैयाँ बराबरको बजेट थियो ।
१ अर्ब ६० करोड ७० लाख १५ हजार राजस्व संकलन, संघीय सरकारको राजश्व बाँडफाँडतर्फ ९ अर्ब ७९ करोड १९ लाख, संघीय सरकारले दिने रोयल्टी ४ करोड ४ लाख छ। वित्तीय समानीकरण अनुदान ८ अर्ब ७२ करोड २७ लाख, गत वर्षको बजेटबाट बचत हुने ६ अर्ब १५ करोड ८३ लाख, संघीय सरकारले दिने सर्शत अनुदानतर्फ ३ अर्ब १३ करोड ३४, समपूरक अनुदान १ अर्ब ४२ करोड र विशेष अनुदान ५५ करोड ६० लाख बजेटका स्रोत हुन्।
कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकारले राजश्व संकलन अध्यादेश ल्याएर बजेट शून्यता हटाएको थियो। तत्कालीन सरकारले प्रदेश सभामा पेश गरेको अर्थ सम्बन्धी विधेयक फिर्ता गर्दै अहिलेको सरकारले नयाँ बजेट ल्याएको थियो।
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले ढिलो गरी बजेट ल्याएको भन्दै विरोध जनाउँदै प्रदेश सभाको बैठक बहिष्कार गरेको थियो। प्रतिपक्षी दलको विरोधका बीच सरकारले बजेट प्रस्तुत गरेको हो।


