काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रास्वपाले अरू दललाई सक्काउने बताएका छन्।
काठमाडौँको कमलादीमा मंगलबार सुरु भएको पार्टीको दुई दिने राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन्।
मुलुकमा कुनै ठुलो विपत्ति नपरिकनै दुई ठुला दल मिलेर सरकार बनाउनुपर्ने कुनै कारण नभएको लामिछानेको भनाइ थियो।
‘रास्वपा सकिएको होइन, रास्वपाले सकाउँछ। लडाईं बल्ल सुरु हुदैछ। हामीले लड्ने लडाईमा कसैको सिउँदो पुछिँदैन। शान्त विद्रोह गर्छौँ,’ लामिछानेले भने, ‘हाम्रो आगमन नै अरूका लागि समस्या भयो त हामी के गरौँ?’, लामिछानेले भने, ‘रास्वपाले दुई तिहाइको नेतृत्व नगरेसम्म यी समस्या आइरहन्छन्।’
सानो लडाइका आफूहरू नआएको लामिछानेको दाबी छ।
लामिछानेले सहकारी रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले आफूमाथि लाग्दै आएको मूल आरोप पुष्टि हुने आधार नदेखिएको प्रतिवेदन दिएपनि केही सञ्चार माध्यमहरु भ्रमको खेती गरिरहेको टिप्पणी गरे।
सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नभएको तर गोर्खा मिडिया नेटवर्क सञ्चालकको भूमिकामा कमजोरी भए कारबाही गर्नु भनिएको सत्यलाई केही मानिसहरुले स्विकार्न नसकेको बताए।
‘हिजो भर्खरै संसदीय छानबिन समितिले आफ्नो छानबिन प्रतिवेदन बुझायो। त्यसमा मूल आरोपका बारेमा स्पष्टसँग मेरो संलग्नता नरहेको बतायो। तर, केही मानिसहरु मलाई डेढ वर्षदेखि सहकारी ठगीको आरोप लगाइरहेका थिए। समितिले यस किसिमको संलग्नतामा रवि लामिछानेको संलग्नता छैन भनेर स्पष्टसँग भनेको छ,’ उनले भने, ‘तर भ्रमको खेती गर्नेहरुलाई त्यो स्पष्टतासँग सरोकार छैन। सहकारी ठगीमा, सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन। पुष्टि हुन सकेन। त्यसपछि गोर्खा मिडिया नेटवर्कमा गएको पैसामा जिम्मेवार हुनुपर्छ। कारबाही भोग्नुपर्छ भनिएको छ। यति कुरा स्वीकार्न के गार्हो कुरा भयो! अझ देशलाई भ्रममा पार्ने काम गरिएको छ। हामीलाई केही आपत्ति छैन।’
कुनैदिन गोलीसँग नडराएर पुर्खाले देश जोगाएको उल्लेख गर्दै लामिछानेले आफूहरु गाली खान नडराउने स्पष्ट पारे। त्यस्तै, सभापति लामिछानेले अरुलाई नंग्याउने निउँमा आफूहरु नाङ्गो नबनाउन सञ्चारमाध्यमलाई आग्रह गरे।
‘मेरो केही चिन्ता छ। म सञ्चारकर्मी साथीहरुलाई यस राष्ट्रिय भेलाबाट अपिल गर्न चाहन्छु। देशको पत्रकारितालाई जोगाउनुस्। मलाई नंग्याउने निउँमा तपाईहरु नाङ्गो नहुनुहोस्,’ उनको भनाइ छ।


