काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला काठमाडौंको प्रज्ञा भवनमा मंगलबार सुरु भएको छ। बुधबारसम्म चल्ने भेलाको पार्टी सभापति रवि लामिछाने र पदाधिकारीले घण्टी बजाएर उद्घाटन गरेका थिए।
पहिलो राष्ट्रिय भेलाको उद्घाटन समारोहमा सभापति लामिछानेले दुई तिहाईको बहुमत नल्याउँदासम्म रास्वपा बनाउने अभियानमा निरन्तर जोडिरहन आह्वान गरे।
उनले आफूले पार्टीको नामदेखि सहकारी प्रकरणसम्म लडिरहनुपरेको उल्लेख गर्दै पार्टी नेता कार्यकर्तालाई पनि जस्तोसुकै परिस्थितिमा दृढतापूर्वक लडिरहन आग्रह गरे।
‘हामी र हाम्रो पार्टीमाथि निरन्तर प्रहार भइरहने छ। यस्ता आक्रमण तथा प्रहार सामना गर्न तयार रहौं। रास्वपा जित्न र हार्न नभई परिवर्तन र प्रेरणाका लागि राजनीतिमा होमिएको हो। हामी लड्यौं भने आफ्नै गोडामा अल्झिएर लड्ने हो, अरुले लडाउन सक्ने छैन’, सभापति लामिछानेले भने।
राष्ट्रिय भेलाको पहिलो दिन मंगलबार कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कविन्द्र बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस तथा छलफल र भोलि सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पेस हुनेछ। भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ।
भेलामा देशभरबाट एक हजार ५०० बढी प्रतिनिधि सहभागी छन्। मंगलबार विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ। पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरिने जनाइएको छ।
मंगलबार नै विधान संशोधन, नीति-विचार, मूल्य-मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ।
बुधबार प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ। बुधबार नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ। अपरान्ह सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुने रास्वपाले जनाएको छ।
भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव सोमबार बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको थियो।


