काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल नहुने भएको छ। प्रतिवेदनमाथि छलफल नै नगरी पारित गराउने तयारी गरिएको हो।
पार्टी सभापति रविले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि भने छलफलका लागि समय छुट्याइएको छैन।
सभापतिले राजनीतिक दस्तावेज पेस गरेपछि तत्कालै पारित गराउने रास्वपाको तयारी छ। यसपछि अभियानको घोषणा र महाधिवेशनको मिति र स्थान तोक्न तोकिने छ।
रास्वपाको राष्ट्रिय भेलामा १५ सय प्रतिनिधि उपस्थित रहेका छन्। उनीहरु पार्टी सभापतिले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि आफ्नो विचार नै राख्न नपाई अनुमोदन गरेर घर फर्किनुपर्ने भएको हो।
काठमाडौंको प्रज्ञा भवनमा मंगलबार सुरु भएको राष्ट्रिय भेलामा मंगलबार प्रदेशको ब्रिफिङ, आर्थिक प्रतिवेदन, अनुशासन आयोग, संसदीय अभ्यासलगायतका विषयमा प्रतिवेदन पेस भएका थिए।
ती प्रतिवेदनमाथि आज छलफल गरी अनुमोदन गर्ने कार्यतालिका छ। ती प्रतिवदेनहरूमा सामूहिक छलफलका लागि केही समय छुट्याइएको छ।


