काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पापको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा रहेको बताएका छन्।
बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। सहकारी ठगीमा कांग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेकोसमेत बताए।
संसदीय छानबिन समिति गठनको माग गर्दा कांग्रेसले गरेको आशंका समितिले समेत पुष्टि गरेको उनको भनाइ छ।
आफूहरुले गोर्खा मिडिया प्रालिले सहकारीको रकम अपचलन गरेको, गोर्खा मिडियाका तत्कालीन सञ्चालक रवि लामिछाने गृहमन्त्री हुँदा सरकारी निकायले छानबिन नगरेको र गोर्खा मिडियामा रकम लैजानेहरुलाई कारबाही गर्न माग गरेर संसदीय छानबिन समिति गठनको माग राखेको बताए। संसदीय छानबिन समितिले आफूहरुले उठाएका सबै विषय सत्य पुष्टि गरेको थापाले बताए।
संसदीय समितिले गोर्खा मिडियाले ४/५ वटा सहकारीबाट करोडौँ रकम गैरकानुनी रुपमा लगेको र यो रकम अपचलनमा तत्कालीन सञ्चालक जीबी राई, कुमार रम्तेल, रवि लामिछाने र छविलाल जोशीलाई प्रचलित कानुन अनुसार कारबाही गर्न सिफारिस गरेको छ।
तर अहिले रास्वपाका नेता कार्यकर्ताले संसदीय समितिले दोषी किटान नगरेको भनेर प्रचार गरिरहेको भन्दै उनले आश्चर्य व्यक्त गरे।
संसदीय समितिमा रहेका रास्वपा सांसदले कारबाही सिफारिस गर्ने निर्णयमा हस्ताक्षर गरेर बाहिर आएर आफ्नो सभापतिलाई दोष लागेन भनेर भ्रम छरेको थापाले बताए।
अहिले रास्वपामा सभापतिको पापको भारी बोक्ने प्रतिस्पर्धा चलिरहेको उनले टिप्पणी गरे। ‘त्यहाँ त अध्यक्षको पापको भारी, अपराधको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा छ, यसले पनि ताली बजाएको छ, उसले पनि ताली बजाएको छ, नाम पार्टीको स्वतन्त्र छ, मान्छे कोही पनि स्वतन्त्र छैन,’ उनले भने, ‘कसले ताली बढी बजाउने भन्ने प्रतिस्पर्धा छ।’
संसदीय समितिको प्रतिवेदन सरकारले कार्यान्वयन गर्नुपर्ने उनले बताए।
कांग्रेस उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगीको आरोप लागेको र गुरुङले आफूमाथि छानबिन होस् भनिरहेको भन्दै थापाले यो विषयमा पनि सरकारले छानबिन गर्नुपर्ने बताए।
‘यो प्रतिवेदन सरकारले तत्काल कार्यान्वयमा लैजान्छ, सरकारले आफ्नो जिम्मेवारी पूरा गर्दा कुनै मोलाहिजा हुनुहुन्न’, उनले भने, ‘हाम्रो नीति निर्दोषले अनावश्यक दुख पाउनुहुन्न र दोषी उम्किनुहुन्न भन्ने हो।’


