काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी ठगी प्रकरणमा पार्टीका उपसभापति धनराज गुरुङ दोषी पाइए कारबाही गर्ने बताएका छन्। कांग्रेसको झापा काठमाडौँ सम्पर्क समितिले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै शर्माले गुरुङमाथि छानबिन सुरु भइसकेको दाबी गरे।
‘हाम्रो उपसभापतिमाथि छानबिन हुनुपर्छ, छानबिन प्रक्रिया अघि बढेको छ। त्यो प्रक्रिया अवरुद्ध गर्न कांग्रेस कहीँ लागेन। कहीँ दबाब दिएन,’ उनले भने, ‘आज सीआईबीले छानबिन प्रक्रिया सुरु गरेको छ। धनराज गुरुङ छानबिन गर्दै गर्दा निर्दोष देखिए माला लगाउनुहुन्छ। कांग्रेसको नेतृत्व गरेर अगाडि जानुहुन्छ। दोषी देखिए जेल जानुहुन्छ।’ उनले पुरानो दलले यति भन्न सक्ने तर नयाँ दलले भन्न नसक्ने उल्लेख गरे।
उनले कांग्रेसले लिएको अडानका कारण अहिले ८७ अर्ब रुपैयाँको हिसाबकिताब अपचलन भएको तथ्य बाहिर आएको बताए।
२० लाख ठगिने मानिसलाई बचाइएको बताउँदै १७ हजार मान्छे मारिएपछि अर्को १७ हजार मारिन कांग्रेसले नै झन्डा उठाएको र आज २० लाख मानिसलाई मर्नबाट जोगाउन पनि कांग्रेसले भूमिका खेलेको उल्लेख दाबी गरे।


