काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विश्लेषकको लहैलहैमा लागेर सेयरमा लगानी नगर्न सचेत गराएको छ। नेप्सेले आज सूचना जारी गर्दै मुलुकमा हालसम्म कुनै पनि निकायबाट कसैलाई पनि बजार विश्लेषकको रुपमा दर्ता वा मान्यता प्रदान नगरिएको स्पष्ट पारेको छ।
फेसबुक, ट्विटर, क्लबहाउसलगायत सामाजिक सञ्जाल वा आम सञ्चारका माध्यममा त्यस्ता विश्लेषक वा विज्ञका नाममा आउने विश्लेषणलाई मात्र आधार बनाई बजारमा लगानी गर्दा जोखिममा पर्न सकिने नेप्सेको ठहर छ। नेप्सेले यथार्थ बुझेर मात्र लगानीसम्बन्धी निर्णय लिन पनि लगानीकर्तालाई आग्रह गरेको छ।
असार मध्यदेखि अप्रत्याशित रुपमा बढ्न थालेको सेयर बजारले केही समययता खासै उचाइ लिन सकिरहेको छैन। १८ सय बिन्दुमा झरिसकेको नेप्से गत साउन ३१ गते एकाएक बढेर तीन हजार बिन्दुमा पुगेको थियो। सो दिन झण्डै ३० अर्बको कारोबार भयो । जुन हालसम्मकै उच्च पनि हो।
तर, अहिले नेप्से पुनः घटेर २५ सयको बिन्दुमा पुगेको छ। त्यस्तै, अहिले कारोबार पनि पाँचदेखि छ अर्बमा सीमित हुदैँ गएको छ । यता, बजार घट्न थालेपछि गत बुधबार अर्थमन्त्री विष्णु पौडेल नेप्से कार्यालय नै पुगेर नेप्सेको अवस्थाबारे छलफल गरेका थिए।


