काठमाडौं- साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २२.३६ अंकले घटेर २४६४.४० विन्दुमा पुगेको छ।
बिहीबार चार अर्ब ८४ करोड रूपैयाँको कारोबार भएकोमा आज चार अर्ब पाँच करोडको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७९ करोड रूपैयाँ कमी आएको हो।
आइतबार ३२७ वटा धितोपत्रको एक करोड ३ लाख ११ हजार ८८५ कित्ता सेयर किनबेच भएको छ। ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यस दिन व्यापार र हाइड्रोपावर उल्लेख्य घटे। व्यापार २.९७ र हाइड्रोपावर २.३६ प्रतिशत घटे। देशमा पछिल्लो समयको बाढीपहिरोले केही हाइड्रोपावर आयोजनामा क्षति पुगेपछि समग्र सेक्टरलाई नै यसले असर पारेको देखियो।


