काठमाडौँ- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एभरेस्ट होटललाई तीन लाख रूपैयाँ जरिमाना गरेको छ।
विभागले गरेको अनुगमनमा म्याद गुज्रिएको सामग्री बिक्री गरिएको भन्दै एभरेस्ट होटललाई तीन लाख रूपैयाँ जरिमाना गरेको हो। एभरेस्टसँगै इमिरो प्लाजालाई तीन लाख रुपैयाँ जरिमाना गराइएको छ।
सोमबार मात्र १९ फर्म तथा उद्योगमा अनुगमना गरिएको विभागले जनाएको छ।सोमबार भक्तपुरको इबामुरा मेमोरियल अस्पताललाई २० हजार रुपैंयाँ जरिवाना गराइएको छ।
विभागका महानिर्देशक राजन पौडेलका अनुसार चाडपर्वसँगै विपत्तिसमेत आएकाले यही समयमा कालोबजारी फस्टाइरहेको गुनासो आएपछि टोली परिचानल गरिएको हो।
कालोबजारी वा कम गुणस्तरको सामग्री बिक्री वितरण गरिएको पाइए निरीक्षणकै स्थानबाट तीन लाखसम्म जरिवाना गर्ने गरि ११ ओटा टोली परिचालन गरिएको महानिर्देशक पौडेलले बताए। टोलीको नेतृत्व भने निरीक्षण अधिकृतले गरिरहेको उनले बताए।
यस्तै कालोबजारी तथा म्याद गुज्रिएको सामग्रीहरुको समेत अनुगमन गर्नेगरी देशैभर सहायक सिडियोको नेतृत्वमा बजार अनुमगन सुरु गरेको महानिर्देशक पौडेलको भनाइ छ। सोसँगै स्थानीय पालिकाहरुसँग समन्वय गरेर बजार अनुगमनलाई तीव्रता दिएको विभागनले जनाएको छ।


