काठमाडौँ- नेपाल याातायात व्यवसायी राष्ट्रिय महासङ्घले दसैँका लागि अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेको छ।
महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला दसैँको बुकिङ बन्द गर्न लागिएको बताएका हुन्। जतासुकै अस्तव्यस्त बनेको सडकका कारण बुकिङ बन्द गर्ने अवस्था आएको उनको भनाइ छ। यस्तो अवस्थामा कुनै हालतमा यात्रुलाई गन्तव्यमा पुर्याउन नसकिने उनको भनाइ छ।
‘विषम परिस्थिति, वर्षालगायत कारण राज्यले व्यवस्थापन गर्न सकिरहेको छैन, बीपी राजमार्ग ठप्पै छ। त्यहाँ ६०० सवारी साधन रोकिएका छन्, चालक खान नपाएको भनेर आफूलाई फोन गरिरहेका छन्,’ उनले भने, ‘दुवै पट्टि पहिरो गएर बीचमा जोखिमपूर्ण अवस्थामा गाडी अड्किरहेका छन्, हामीले खाना नै पुर्याउन सकिरहेका छैनौँ, सरकारले पनि सकेको छैन, अनि कसरी चलाउन सकिन्छ गाडी?’
वरिष्ठ उपाध्यक्ष सिटौलाले नागढुङ्गाबाट बाहिर जान चार दिनअघिका गाडी बल्ल पठाइएको बताए।
‘जाम जारी छ, धादिङ र दाउन्नेमा पहिरो खसिरहेकै छ, देशभरको सडक अस्तव्यस्त भएका कारण समस्या ठूलो छ, फेरि वर्षा हुने भनिरहेको छ,’ उनले भने, ‘बीचमा रोकिएका गाडी र यात्रु जोखिममा परे, केही भए जिम्मा कसले लिन्छ रु वर्षा नहुँदा पनि सुक्खा पहिरो खसिरहेको छ, यातायात रोकिँदा अब हाम्रो सबै ‘सेडुअल’ बिग्रियो, अब हामीले टिकट बुक गर्न सक्ने अवस्था छैन, यदी गाडी समयमा आउने अवस्था नरहे यात्रुका पैसा फिर्ता गर्नेछौँ।’
वर्षाका कारण विपत्तिको सङ्कटग्रस्त क्षेत्र घोषण गर्न ढिला गर्न नहुनेमा उनले सरकारलाई सुझाव दिए। मान्छेको ज्यान बचाउन राज्यले ध्यान दिनुपर्ने भन्दै सिटौलाले दसैँपछि पनि मनाउन सकिने भएकाले अहिले जोखिम ख्याल गर्नुपर्ने बताए।
मंगलबार बिहान ११ बजेदेखि गाडी रोक्न अनुरोध आएको सुनाउँदै उनले एक ठाउँमा भए गाडी रोकौँला पन्छाएपछि सहज जाउँला भन्ने हुन्छ, जताततै भत्किएको अवस्थामा सहज सञ्चालन हुने अवस्था नै नरहेको उनको भनाइ छ।
पहिरोको त्रास कायमै रहेको अवस्थामा बेलैमा सरकारले निर्णय गरोस् भन्ने आफूहरुको माग रहेको उनले बताए।
अनलाइन टिकेटिङ प्लेटफर्मले अग्रिम टिकट काटेका सेवाग्राहीलाई रकम फिर्ता गर्न थालेका छन्। उनीहरूले नयाँ टिकट पनि बिक्री गर्न छोडेकाछन्।
सोमबार, मङ्गलबार र बुधबारसम्मको टिकट लिएका यात्रुले टिकटबापतको रकम फिर्ता पठाएको अनलाइन बस टिकेटिङ प्लेटफर्म बससेवाका सीईओ पीआर खनालले जानकारी दिए।
‘बाढी पहिरोले गर्दा सवारी साधन आउन-जान समस्या भयो,’ खनालले भने, ‘बस उपलब्ध नहुने भएपछि हामीले रिफन्ड गरिदिन थालेका छौं।’
अर्को अनलाइन बस टिकेटिङ प्लेटफर्म बकबसका संस्थापक शेरबहादुर गुप्ताले पनि अग्रिम टिकट किनेका सेवाग्राहीको रकम फिर्ता पठाउन थालिएको बताए।
घटस्थापनाअघिका लागि नयाँ टिकट पनि बिक्री गर्न अनलाइन प्लेटफर्मले बन्द गरेका छन्। घटस्थापना र त्यसपछिका दिनको टिकट लिने सेवाग्राहीको टिकट हालसम्म यथावत् रहेको बताइएको छ।
टिकट लिइसकेका ग्राहकले सम्बन्धित प्लेटफर्ममा रकम फिर्ता भए नभएको हेर्न सक्छन्।


