काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन्।
गृहमन्त्री रमेश लेखकले आफूलाई जानकारीमा आएको विषय बताएकाले त्यसलाई अयोग्यता वा अपराधका रूपमा हेर्न नहुने भन्दै बचाउ गरेका हुन्।
शनिबार गृहमन्त्री लेखकले ४ जनालाई ‘बचाउन सकिएन’ भनेका तीन जनाको सकुशल उद्धार भएको थियो। दुई जनालाई काभ्रेका चणिकलाल तामाङले बाढीमा हाम्फालेर बचाएर ल्याएका थिए।
शनिबार नख्खु खोलामा बाढी आएपछि नख्खुडोलमा चार जना जस्तापाताको छनामा चढेका थिए। घण्टौँसम्म उद्धारको गुहार गरेका उनीहरुलाई उक्त घर भत्काएर खोलाले बगाएको थियो। तीमध्ये एक जनाको मात्र अवस्था अहिलेसम्म अज्ञात छ।
सोही दिन गृह मन्त्रालयमा बसेको बैठकपछि गृहमन्त्री रमेश लेखकले चार जनालाई बगाएको भन्दै बचाउन नसकेको बताएका थिए।
‘गृहमन्त्रीजीले आफैं गएर त हेर्न सक्ने कुरा आएन,’ लेखकको बचाउ गर्दै ओलीले भने भने, ‘बगाएर लग्यो, बचाउन सकिएन भनेर त्यहाँका मान्छेहरुले जे रिपोर्ट दिए, गृहमन्त्रीजीले त्यही भाषा बोल्नुभयो। बगाएर लग्यो, बचाउन सकिएन।’
तर प्रारम्भिक जानकारी कहिले कहिले फरक पर्नसक्ने भन्दै उनले अगाडि भने, ‘यस विषयलाई धेरै ठूलो अपराध, अयोग्यताका रुपमा लिन हुँदैन जस्तो लाग्छ।’
लेखकले बाढीपहिरोको क्षति र उद्धार तथा राहतका विषयमा नेपाली कांग्रेस संसदीय दललाई ब्रिफिङ गर्दै एउटा कुनै घटनाका विषयमा मात्र आलोचना गरिएको भन्दै रोष पोखेका छन्।
सोही दिन गृह मन्त्रालयमा बसेको बैठकपछि गृहमन्त्री रमेश लेखकले चार जनालाई बगाएको भन्दै बचाउन नसकेको बताएका थिए।
सरकारले ७ सयभन्दा बढी मानिसको हेलिकोप्टरबाट उद्धार गरिएको तर नख्खुको घटनाका विषयमा आफूले प्रयास गर्दागर्दै नसकेपनि आलोचना भइरहेको भन्दै उनको असन्तुष्टि थियो।
गृहमन्त्री लेखकले नख्खुखोलाको घटनाका विषयमा बाहिर आलोचना भएजस्तो सरकारले सहयोग नै नगरेको विषय सत्य नभएको भन्दै चित्त दुखाए। टिनको छाप्रोमा उद्धार गर्ने विषयमा सशस्त्र प्रहरी र नेपाल प्रहरी पठाइएको उनको दाबी छ। यद्यपि घण्टौँसम्म छाप्रोमाथि बसेका ४ जनालाई बचाउन सरकारले तदारुकताका साथ काम गरेको भन्ने स्थान देखिएको छैन।
‘सशस्त्र प्रहरीको बोट पल्टिँदा उद्धारमा समस्या भएको हो। त्यतिबेला नेपाली सेनाले हेलिकप्टर उठाउने भिजिबिलिटी नभएको मलाई बताएका थिए,’ उनको दाबी छ। उनले सोही घटनालाई मात्र आधार बनाएर सरकारको आलोचना गर्नु उचित नहुने जिकिर गरे।
‘एक जना स्थानीयले उद्धार गरेपछि नेपाल प्रहरीकै गाडीमा अस्पताल लगिएको थियो। प्रहरीले सहयोग नगरेको भन्ने होइन,’ उनले भने, ‘चार हजारभन्दा बढीको सरकारले उद्धार गरेको छ। एउटा घटनालाई लिएर सरकारले केही गरेन भन्नू न्यायोचित हुँदैन।’
सरकारले अहिले पनि राहत र उद्धारको काम गरिरहेको उनले बताएका थिए। तत्काल अस्थायी आवास निर्माण गर्ने र आगामी दिनमा स्थानी आवास बनाउने व्यवस्था मिलाइएको लेखकको ब्रिफिङ छ। क्षतिग्रस्त संरचनाको मर्मत र सञ्चालनको काम पनि भइरहेको उनले ब्रिफिङ गरेका थिए।
गृहमन्त्री लेखकले गृह मन्त्रालयको सहसचिवको नेतृत्वमा सोमबार ८ वटा टोली बनाएर आजै क्षतिग्रस्त ८ जिल्लामा पठाइएको बताए। यातायात संञ्चालन गरी मूल्यवृद्धि नियन्त्रणका लागि सरकार सचेत रहेको जानकारी दिए।
नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीले सडक सञ्चालनका लागि काम गरिरहेको उनको भनाइ थियो।
नख्खु घटनाका विषयमा उद्धारको प्रयास नगर्ने तर मानिसहरूको मृत्युको घोषणा गर्नका लागि मात्र सरकारले हतार गर्ने गरेको भन्दै सरकार र खासगरी गृहमन्त्री लेखकको आलोचना भइरहेको छ।
बाढीपहिरोपछि भइरहेका सत्तासाझेदार कांग्रेसका बैठकमा कांग्रेसकै नेताहरूले कांग्रेसकै मन्त्रीहरूको चर्को आलोचना गरिरहेका छन्। सबैभन्दा बढी आलोचना गृहमन्त्री लेखकको भइरहेको छ। यस्तै, कार्यवाहक प्रधानमन्त्री रहेका प्रकाशमान सिंहको पनि आलोचना गर्ने कांग्रेसकै नेताहरू बढी छन्। सत्ताको नेतृत्व गरिरहेको एमालेले औपचारिक रूपमा चाहिँ विपदका बेला सरकारले प्रभावकारी रूपमा काम गरेको बताउने गरेको छ।
प्रतिपक्षी दलहरूले मन्त्रिविशेषको मात्र नभएर समग्र सरकारकै असफलता भएको बताउँदै आएका छन्।


