काठमाडौँ- काठमाडौं जिल्ला अदालतले ‘सुगर ड्याडी’ भनिने आशिष देउलालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।
बुधबार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगको मुद्दामा बूढानीलकण्ठका देउलालाई थुनामा पठाउने आदेश गरेको हो।
उनीसँगै अन्य तीन जनालाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश छ।
अदालतको आदेशपछि उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी हरि खतिवडाले जानकारी दिए।
देउलासँगै उदयपुरको त्रियुगा नगरपालिका-१२ का २२ वर्षीय ओजस्वी तामाङ, टोखा नगरपालिका-३ का २७ वर्षीय राजेन्द्र घले र भरतपुर महानगरपालिका-२९ का २२ वर्षीय साजन गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
सुरूको जाहेरीमा देउला र तामाङ मात्रै प्रतिवादी थिए। त्यसकै आधारमा मुद्दा दायर भएको थियो।
अर्का युवकले तीनै जनालाई विपक्षी बनाएर दिएको जाहेरीपछि पूरक मुद्दा दायर भएको थियो।
सामाजिक सञ्जालमा ‘सुगर ड्याडी’बाट परिचित देउलाको समूहले युवायुवतीलाई यातना दिएर आनन्द लिने गरेका थिए।
क्लबमा भेट्ने युवायुवतीलाई ‘हाउस पार्टी’ गर्ने भनेर देउलाको समूहले बुढानीलकण्ठमा लैजाने गरेको थियो। त्यहाँ लगेर सख्त यातना दिने गरेको पीडितको बयान र प्रहरीको दाबी छ।
उनी दिनमा भने व्यापार गर्ने भनेर चिनिन्थे। रातमा भने उनको अनुहारमा मुकुन्डो हुन्थ्यो।


