काठमाडौँ- भारत सरकारको अनुदान सहयोगमा नेपालका दुई स्थानमा पेट्रोलियम पाइपलाइन बन्ने निश्चित भएको छ।
भारतको सिलुगुडीदेखि नेपालको चाराली र अमलेखगञ्जदेखि चितवनको लोथरसम्म भारतले पाइपलाइन बनाइदिने भएको हो।
यससम्बन्धी सम्झौतामा नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिका प्रसाद भट्ट र इण्डियन आयल कर्पोरेसनका निर्देशक सेन्थल कुमारबीच सम्झौता भएको छ।
यी स्थानमा भारतले भण्डारण गर्ने व्यवस्था गर्नका लागि पनि अनुदान दिनेछ।
बीटूबी फ्रेमवर्क एग्रिमेन्ट भारत सरकारका पेट्रोलिमय तथा नेचुरल ग्यास सचिव पंकज जैन र इन्डियन आयल कर्पोरेसनका अध्यक्ष सतीश कुमारको उपस्थितिमा उक्त सम्झौता भएको हो।
भारतको सिलिगुडीदेखि नेपालको झापास्थित चारालीसम्म ५० किलोमिटरमा पेट्रोलियम पाइपलाइन बनाइने छ। चारालीमा १८ हजार ९ सय किलोमिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल बनाउन पनि भारतले अनुदान दिने भएको छ।
अमलेखगञ्ज-लोथरको ६२ किलोमिटरमा पेट्रोलिम पाइपलाइन बन्नेछ। चितवनको लोथरमा ९१ हजार ९ सय किलोलिटर क्षमताको स्मार्ट ग्रिनफिल्ड टर्मिनल बनाउन भारतले प्राविधिक सहयोग र नेपाल आयल निगमले लगानी गर्नेछ।
यी परियोजनाहरूको कुल लागत १५ अर्ब रुपैयाँ अनुदान रहने निगमले जनाएको छ।
यसअघि नेपाल र भारतबीच अन्तरदेशीय पहिलो पेट्रोलियम पाइपलाइन मोतिहारी-अमलेखगञ्ज भदौ २०७६ मा उद्घाटन भई सञ्चालनमा छ। यो पाइपलाइनको लम्बाइ ६९.१ किलोमिटर छ।


