काठमाडौँ- सानिमा बैंकले आफ्ना सेयरधनीलाई ५.२६ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ।
गत आर्थिक वर्षको (२०८०/८१) नाफाबाट बैंकले सो लाभांश दिने गरेको हो। बैंकको सोमबार (असोज २१ गते) बसेको सञ्चालक समिति बैठकले कर प्रयोजनसहित ५.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र सानिमाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ। बैंकले हाल कायम १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश प्रस्ताव गरेको हो।
बैंकको लाभांश इतिहासमा विगत १० वर्षयताकै कम लाभांश यसपटक दिन लागेको हो। अघिल्लो वर्ष (२०७९/८०) बैंकले ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५.७० प्रतिशत नगद गरी कुल १४.७० प्रतिशत लाभांश घोषणा गरेको थियो।
यस्तै ०७८/७९ मा १०.९८ प्रतिशत लाभांश बाडेको सानिमाले त्यसअघि आव ०७७/७८ मा १७.८९ प्रतिशत लाभांश बाडेको थियो।
आव ०७६/०७७ मा १३.६० प्रतिशत, ०७५/७६ मा २१.०५ प्रतिशत, ०७४.७५ मा १४ प्रतिशत लाभांश बाडेको थियो। यस्तै ०७३/०७४ मा १६ प्रतिशत, ०७२/७३ मा १५.७९ प्रतिशत, ०७१/०७२ मा २१.०५ प्रतिशत र ०७०/७१ मा १५.७९ प्रतिशत लाभांश बाडेको थियो।


