काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले समितिका सभापति र दलका प्रमुख सचेतकहरु संग छलफल गरेका छन्।
सिंहदरवारमा मंगलबार बसेको संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतक तथा सचेतकसँगको छलफलमा सभामुख देवराज घिमिरेले संसदीय समितिहरुमा विचाराधीन रहेका विधेयकलाई आगामी अधिवेशनमा पेस गर्न निर्देशन दिए।
छलफलपछि पत्रकाहरुसंग कुरा गर्दे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले कुन समितिमा कति विधेयक छन् ? त्यसलाई पास गर्न कति समय लाग्छ भनेर सभामुखले चासो देखाएको जानकारी दिए। उनले समितिमा बैठक राख्दा चियापानीका लागि पनि बजेट नभएको गुनासो गरेका थिए।
त्यस्तै एमालेका मुख्य सचेतक महेश बर्तौलाले ४० वटा विधेयकमा १७ वटा पारित भएको र बाँकि विधेयकलाई छिटो टुंगो लगाउने विषयमा सभामुखको ध्यानकर्षण गराएको बताए।
सभामुखले विशेषगरी संसदीय समितिको बैठक राख्नका लागि निर्देशन दिनुभएको पनि उनले जानकारी गराए।
त्यस्तै नेकपा माओबादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विधेयकहरुलाई ब्यबस्थित गरेर कसरी अगाडि बढाउने। संसदलाई प्रभावकारी कसरी बनाउने भन्ने विषयमा सभामुख घिमिरेलाई सुझाव दिएको बताए। पाण्डेले समितिमा अडकिएका विधेयकहरुको जवाफदेहिता अब समितिहरुले लिनुपर्ने बताएका थिए।
छलफलमा ५ समितिका सभापति र चार दलहरुका मुख्य सचेतक, उपसभामुख तथा कानुनमन्त्रीको उपस्थिति रहेको थियो।


