काठमाडौँ- सामाजिक सुरक्षा कोषमा आन्तरिक र वैदेशिक रोजगारीमा रहेका १७ लाख ९४ हजार श्रमिक आबद्ध भएका छन्। कोषले औपचारिक, अनौपचारिक र वैदेशिक रोजगारीमा जाने श्रमिकलाई आबद्ध गराउँदै आएको छ।
कोषका कार्यकारी अधिकृत कविराज अधिकारीका अनुसार आन्तरिक श्रम बजारमा रहेका १९ हजार ७ सय ६७ रोजगारदाताले ५ लाख ४३ हजार ३ सय ८८ श्रमिकलाई आबद्ध गराएका छन्। त्यस्तै वैदेशिक रोजगारीमा जाने अथवा स्वदेशमा रहेका १२ लाख ५० हजार श्रमिक पनि कोषमा आबद्ध भएका छन्।
कोषको औषधोपचार तथा मातृत्व योजनामा ३ लाख ७४ हजार १ सय वटा दाबीबापत १ अर्ब ४८ करोड १९ लाख ८ हजार भुक्तानी भएको छ।
यस्तै, दुर्घटना तथा अशक्त सुरक्षा योजनामा ७ हजार १ सय १७ वटा दाबीबापत १५ करोड २० लाख र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ५ सय ८७ श्रमिकका परिवारलाई १८ करोड ५४ लाख भुक्तानी गरिएको अधिकारीले जानकारी दिए।
यसैगरी, वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत ९ अर्ब ८० करोड गरी ११ अर्ब ६२ करोड रुपैयाँ योगदानकर्ता वा निजका परिवारलाई भुक्तानी गरिसकेको छ।
कोषका कार्यकारी अधिकृत अधिकारी भने, ‘पहिले वैदेशिक क्षेत्रका श्रमिकले मात्र औषधोपचार पाउने गरेकामा अहिले उनीहरूका श्रीमान्, श्रीमती र १८ वर्ष नकटेका छोराछोरीलाई समेत यो सुविधा थप गरिएको छ।’
कोषको दायरा विस्तारका लागि विराटनगर, सिमरा, बुटवल, नेपालगन्ज, पोखरा र जनकपुरमा कार्यालय स्थापना गरिएको छ। यसै आर्थिक वर्षभित्र कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमासमेत कार्यालय स्थापना गर्ने योजना रहेको उनले बताए।


